काठमाडौं । ‘म, विमलेन्द्र र प्रकाशमानमध्ये एकजना सभापतिमा उम्मेदवार हुनुपर्छ’ भन्दै आएका कांग्रेस महामन्त्री शशांक कोइरालाले महाराजगन्जस्थित आफ्नो निवासमा खानपिन जमघट गर्दै परिवारभित्रका अन्य दुई आकाक्षींलाई मनाउने प्रयास गरेका छन् ।
वीपी कोइराला पुत्र शशांक,गिरिजाप्रसाद कोइराला पुत्री सुजाता र केशव कोइराला पुत्र शेखरबीच आज बिहान खानपिन सहित भेटघाट भएको हो ।
आगामी भदौमा हुने भनिएको कांग्रेसको १४ औं महाधिवेशनमा शशांक,सुजाता र शेखर तीनै जनाले सभापति पदमा आ–आफ्नो आकाक्षां लुकाएका छैनन् । तर तीनै जनाले एकले अर्काको लागि मार्ग प्रसस्त गर्ने पनि बताएका छैनन ।
शशांकले विमलेन्द्र नीधि,प्रकाशमान सिंह र आफुमध्य एकजना सभापतिको उम्मेदवार हुने बताएर सुजाता र शेखरलाई सभापति पदको दावेदार नै नमानेको संकेत यसअघि दिइसकेका छन् ।
१३ औं महाधिवेशन सकिनासाथ आगामी महाधिवेशनमा सभापतिको दावेदारी दिने भन्दै देशब्यापी दौडाहामा हिँडेका शेखरले अहिलेसम्म पनि आफ्नो त्यो अडान छाडेका छैनन् ।
सुजाताले पनि सभापतिको चाहना देखाए पनि त्यसको तयारी गरेकी छैनन् । उनी कोइराला परिवारबाट एकजनामात्र उम्मेदवार हुने त्यस्तो परिस्थिती बनेको खण्डमा आफुले उक्त पदका लागि दावेदारी नदिने कुरा सार्वजनिक रुपमा भन्दै आएकी छिन् । उनले आफ्ना निकटस्थहरुसित भन्ने गरेकी छिन,‘कोइराला परिवारबाट एकमात्र उम्मेदवार हुने सहमति बन्यो भने म त्याग गर्न तयार छु ।’
विगतमा जस्तै यसपटक पनि कोइराला परिवार एक ठाउँमा छ भन्ने सन्देश दिनका लागि आयोजना गरिएको खानपिन भेटघाटमा सुजाता केही लचकताका साथ प्रस्तुत भइन भने शशांक र शेखरले आफ्नो दावेदारीलाई निरन्तरता दिएको स्रोत बताउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया