गब्बरको जब्बर कप्तानी पारीमा भारतको सहज जित

काठमाडौं। श्रीलंका भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले पहिलो एकदिवसीय खेलमा ७ विकेटको फराकिलो जित दर्ता गरेको छ।

आइतवार कोलोम्बोको राजपक्ष रंगशालामा खेलिएको पहिलो एकदिवसीय खेलमा घरेलु टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६२ रन बनाउन सफल भएको थियो।

घरेलु टोलीको लागि चमीका करुणारत्नेले सर्वाधिक ४३ रनको अविजित पारी खेलेका थिए। त्यस्तै कप्तान दसुन शनाकाले ३९, चरिथ असलन्काले ३८ र ओपनर अभिस्का फर्नान्डोले ३३ रन बनाउन सफल भएका थिए। भारतका लागि तिब्र गतिका बलर दिपक चहरले २ विकेट लिन सफल भए। त्यस्तै स्पिनरद्वय कुलदीप यादव र युजवेन्द्र चहलले पनि २-२ विकेट बटुले।

जवाफी ब्याटिङमा २६३ रनको लक्ष्य लिएर क्रिजमा उत्रेका भारतीय ओपनरद्वय पृथ्वी श र कप्तान शिखर धवनले शानदार ब्याटिङ गरे। शले २४ बलमा ४३ रनको विस्फोटक ब्याटिङ गर्दा भारतले राम्रो शुरुवात गर्न सफल भएको थियो। त्यसलाई निरन्तरता दिने काम कप्तान धवन र ईशान किशनले गरे।

गब्बर नामले प्रख्यात धवनले अविजित ८६ रनको योगदान दिँदा भारतको लागि एकदिवसीय खेलमा डेब्यू गरेका किशनले ५९ रनको अर्धशतकिय पारी खेले। त्यस्तै मनिष पाण्डेले २६ रन बनाउँदा अर्का डेब्यू खेलाडी सूर्यकुमार यादवले ३१ रनको अविजित पारी खेले। श्रीलंकाका लागि धनन्जय डे सिल्भाले २ विकेट लिन सफल भए।

आफ्नो शुरुवाती विस्फोटक ब्याटिङको लागि भारतका श खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए। यस जितसँगै भारतले तीन एकदिवसीय खेलको शृंखलामा १-० को अग्रता लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?