टी-ट्वेन्टीका सर्वोत्कृष्ट बलर शमसीको घातक बलिङमा आयरल्यान्ड पराजित

काठमाडौं। आयरल्यान्ड भ्रमणमा रहेको दक्षिण अफ्रिकाले पहिलो टी-ट्वेन्टी खेलमा ३३ रनको जित दर्ता गरेको छ।

आयरल्यान्डको राजधानी डबलिनमा भएको पहिलो टी-ट्वेन्टी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६५ रनको लक्ष्य तयार पारेको थियो। दक्षिण अफ्रिकाका लागि आइडेन मारक्रमले सर्वाधिक ३९ रन बनाएका थिए।

त्यस्तै डेभिड मिलरले २८ रन बनाउँदा क्विन्टन डे ककले २० रन बनाएका थिए। आयरल्यान्डका लागि मार्क अडेरले ३ विकेट लिए भने सिमी सिंह र जोश लिटलले समान २-२ विकेट लिन सफल भएका थिए।

जवाफी ब्याटिङमा १६६ रनको लक्ष्य बोकेर क्रिजमा उत्रेको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १३२ रन बनाउन सफल भयो। घरेलु टोलीका लागि ह्यारी टेक्टरले सर्वाधिक ३६ रनको योगदान दिए भने ब्यारी मेकार्थीले अविजित ३० रन बनाएका थिए।

दक्षिण अफ्रीकाका लागि स्पिनर तब्राईज शमसीले सर्वाधिक ४ विकेट लिन सफल भए। खेलमा ‘म्यान अफ दि म्याच’ चुनिएका टी-ट्वेन्टी विश्व नम्बर १ बलर शमसीले व्यक्तिगत ४ ओभरमा २७ रन मात्र दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?