मैत्रीपूर्ण खेलमा विक्रमको टोली विजयी, अनन्तको टोली पराजित

काठमाडौं। बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको आन्तरिक मैत्रीपूर्ण खेलमा विक्रम लामाको प्रशिक्षणमा रहेको टोलीले अनन्त तामाङको प्रशिक्षणमा रहेको टोलीलाई ३-२ गोलले पराजित गरेको छ।

हरेक बिहीवार खेलिने मैत्रीपूर्ण खेल अन्तर्गत आज खेलिएको खेलमा नेपाली राष्ट्रिय टोलीका दुई प्रमुख खेलाडी विक्रम लामा र अनन्त तामाङ प्रशिक्षकको भुमिकामा देखिएका थिए। अनन्तको टोलीबाट प्रशिक्षक अल्मुताइरी आँफै खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए।

पहिलो हाफको ५औं मिनेटमा नै अनन्तको टोलीका स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको ८औं मिनेटमा विक्रमको टोली खेलमा फर्किएको थियो। मिडफिल्डर सन्तोष तामाङले पेनाल्टी मार्फत विक्रमको टोलीलाई बराबरीमा पुर्याएका थिए। पहिलो हाफको २३औं मिनेटमा विक्रमको टोलीले खेलमा अग्रता लिन सफल भएको थियो। अभिषेक रिजालको शानदार पासमा कमल थापाले उत्कृष्ट गोल गर्दै विक्रमको टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको खेल सकिँदासम्म २-१ गोलले अग्रता लिएको विक्रमको टोलीले दोस्रो हाफको ५०औं मिनेटमा गोल खान पुग्यो। सुजल श्रेष्ठको हेडर गोलले अनन्तको टोलीलाई खेलमा फर्काउन मद्धत गरेको थियो। तर खेल सक्किन १० मिनेट बाँकी रहँदा विक्रमको टोलीले पेनाल्टी पायो। आशिष लामाले सो मौकालाई गोलमा परिणत गर्दा खेलमा विक्रमको टोलीले जित प्राप्त गर्न सफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?