‘अरु दललाई ह्वीप लाग्ने एमालेलाई चाहिँ नलाग्ने किन ?’- नेम्वाङ

काठमाडौं- नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले विश्वासको मत दिने सम्बन्धमा नेपाली कांग्रेसलगायतका दलमा चाहीँ ह्वीप लाग्ने तर नेकपा(एमाले)लाई ह्वीप नलाग्ने अवस्था बनाइएको भन्दै गुनासो पोखेका छन्।

शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उपनेता  नेम्वाङले  सर्वोच्च अदालतको फैसलाले राज्यका अंगहरुबीचको शक्ति सन्तुलन खल्बलिन पुगेको पनि बताएका छन्। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश दिनुले राज्यका अंगहरुबीचको नियन्त्रण र सन्तुलनको सिद्धान्तअन्तर्गत नभएकाले राज्यका अंगहरुबीचको सन्तुलन गुमेको बताएका हुन् ।

अदालतको फैसलाले संविधानको अक्षर, बहुदलीय शासन प्रणाली र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर तुल्याएको पनि उनले बताए । उनले भने – ‘हामीले भनेका छौँ सर्वोच्च अदालतले संविधानको अक्षर, बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली, शक्तिपृथकीकरण एवम् नियन्त्रण र सन्तुलनको सिद्धान्त, सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको संविधानको आधारभूत प्रस्तावना । राज्यका यी तीन अंगहरुको बीचमा सर्वोच्च अदालतको यो फैसलाबाट कताकता सन्तुलन अलि खल्बल्लिन पुगेको छ कि भन्ने हाम्रो बुझाइ छ ।’

उनले वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट आएको बताए । प्रधानमन्त्री देउवाले यसअघि आफूलाई सरकारमा जाने जनादेश नभएकाले सरकारमा जाँदैनौँ भन्ने अभिव्यक्ति दिएको स्मरण गराउँदै नेम्वाङले अहिले प्रधानमन्त्री बन्न कसरी जनादेश आयो भन्ने प्रश्न पनि गरे ।

उनले भने,– ‘सरकार गठनको प्रसंगमा हामीलाई यसपटक जनताले जनादेश दिएका छैनन् । त्यसकारणले म सरकारमा जानेवाला छैन भनेको । अहिले त बधाई दिनुपर्ने पो अवस्था आयो।’

उनले आगमी दिनमा देशमा कस्तो प्रणाली बसाउने भन्नेमा ध्यान दिन पनि प्रधानमन्त्री देउवालाई आग्रह गरे  । उनले आफूहरु जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि बताए । आफूहरुले प्रत्येक मन्त्रालयको अनुगमन गर्ने र सरकारले के गरिरहेको छ हेर्ने पनि उनले बताए ।

उनले भने – ‘हाम्रो यहाँलाई जिम्मेवार प्रतिपक्षको रुपमा हामी बेठीक कुरालाई बेठीक भन्छौँ । तर जिम्मेवारीपूर्वक अगाडि बढ्छौँ । गलत कुरालाई गलत भन्छौँ ।  प्रष्ट भन्छौँ पार्टीगत रुपमा तपाईसँग, तपाईको पार्टीसँग हाम्रो सहयोग रहन्छ । तपाईसँग त्यही रुपको हार्दिक सम्बन्ध रहन्छ । तर एउटा कल्चर स्थापित गर्न हामी सधैँ लागेका छौँ हामी तपाईको पार्टीसँग तपाईमार्फत सम्बन्ध विस्तार गर्छौ । तपाईका पार्टीभित्रका कोही मित्रहरुसँग छुट्टै गठबन्धन बनाउँदैनौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?