काठमाडौं- वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै झुक्याएर रकम ठगी गरेको अभियोगमा ३ जनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कपिलवस्तु वाणगंगा नगरपालिका ४ हरिहरपुरका बिनोद भुसाल, कास्की पोखरा महानगरपालिका २ मिरुवाका पुकार गुरुङ र सोही महानगरपालिका १२ रानीपौवाका प्रकास गुरूङ रहेका छन्।
बिनोदले विगत दुई वर्षदेखि पुकार, प्रकाश लगायतका व्यक्तिहरूको बैंक खातामा पटक पटक गरी पीडितलाई ७४ लाख ९ हजार ५ सय रुपैयाँ रकम जम्मा गर्न लगाई ठगी गरेको प्रहरीले जनाएको छ।
अमेरिकामा थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी २५ लाख रुपैया ठगी गरेको कसूरमा बिनोदलाई जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारवाही गरेको, अमेरिकामा रहेकी भनिएकी दिव्या राणाले कृषि फर्ममा वर्क परमिट भिसा दिलाउँछु भनि प्रलोभन देखाई बिनोदसँग सम्पर्क गरी भने बमोजिम गर्नु भनि पीडितलाई विश्वास दिलाएको र विनोदले विभिन्न व्यक्तिहरुको खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको साथै उनीहरूले अमेरिकन एम्बेसी काठमाडौंको नक्कली कागजातहरु बनाई पीडितहरुलाई झुक्याई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाईएको ब्यूरोले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया