मौलिक कला संस्कृति लोप हुन लागेको भन्दै मगर संग्रहालय

रोल्पा, १९ चैत । मगर संस्कृति लोप हुन लागेको भन्दै त्यसको संरक्षणका लागि रोल्पामा मगर संग्रहालय स्थापना गरिएको छ । मौलिक कला संस्कृति नै लोप हुने गरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेको भन्दै मगर अगुवाले सो संग्रहालय स्थापना गरेका हुन् ।घना मगर बस्ती रहेको रोल्पामा कला, संस्कृति, रहन, सहन र वेशभूषालाई संरक्षण गर्दै पुस्ता हस्तान्तरणका लागिसमेत संग्रहालय स्थापना गरिएको मगर संग्रहालयका अध्यक्ष भीमबहादुर बुढाले बताए ।मगरले प्रयोग गर्ने भाँडावर्तन, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्री राखिएको सो संग्रहालय अवलोकन गर्नेको संख्यासमेत उल्लेख्य रहेको छ । मगर समुदायले उत्पादन गरेका सामान खरिद तथा बिक्रीको सेवासमेत दिँदै आएको संग्रहालयले आगामी दिनमा सेवा अझै व्यवस्थित बनाउने योजना बनाएको अध्यक्ष बुढामगरले जानकारी दिए ।पर्यटन प्रवद्र्धनका लागिसमेत यस्ता संग्रहालय सहयोगी हुने भएकाले यसको थप विकास र प्रवद्र्धनमा राज्यले लगानी गर्नुपर्ने मगर अगुवाले बताएका छन् । पछिल्लो जनगणनाअनुसार रोल्पामा करीब ४४ प्रतिशत मगरको जनसंख्या छ । आफ्नै भाषा, संस्कृति, वेशभूषा र संस्कार संस्कृति भएका मगरको मौलिकता जोगाइराखे जिल्लाको पर्यटन विकासमा समेत टेवा पुग्ने पर्यटनका जानकार बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?