‘केपी, झलनाथ र माधव तीनै जना अवसरवादी हुन्’ (भिडियोसहित)

लोकपथ
203
Shares

झण्डै दुई तिहाइको नेकपा एमाले अर्थात् कम्युनिस्ट नेतृत्वको सरकार अहिले सत्ताबाट बाहिरिएको छ । एमालेभित्रको आन्तरिक कलहकै कारण नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने मौका पाएको छ । यतिबेला एकीकृत कम्युनिस्ट पार्टीको बहस पनि चल्न थालेको छ । यी लगायत देशको समसामयिक विषयमा केन्द्रित रहेर लोकपथका लागि रामेश्वर सापकोटाले वरिष्ठ राजनीतिज्ञ, पूर्वउपप्रधानमन्त्री एवं नेकपा मालेका महासचिव सीपी मैनालीसँग गरेको कुराकानीको सम्पादित अंश :

एमालेभित्रको आन्तरिक कलहका कारण झण्डै दुई तिहाइको कम्युनिस्ट सरकार सत्ताबाट बाहिरिएको छ, यसको अन्तर्य खास के हो ?
यो प्रक्रिया नै दुःखद छ । विगतका कुरा गर्दा धेरै लामो हुन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले जनअपेक्षाअनुरूप काम नगर्नु, कोरोना महामारीलाई सामना गर्नुको सट्टा सत्तामा बसिरहन विभिन्न गलत काम गर्नु र दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्नु अनि पार्टीको आन्तरिक कलहलाई समाधान गर्न नसक्दा एमाले सरकारबाट बाहिरिनु पर्‍यो ।

तपाईंहरूले ज्यान हत्केलामा राखेर अहिलेको एमाले निर्माण गर्नुभयो । एमालेभित्रको पछिल्लो किचलो हेर्दा, सम्झिँदा पीडा हुँदैन ?
अवश्य नै दुःख लाग्छ । एमाले अचानक यस्तो भएको होइन । २०३९ देखि नै एमालेमा गलत कार्यप्रणाली बस्यो । गुटबन्दी, निषेधको राजनीति, सत्ता लोलुपता र राष्ट्रहितलाई घात गरेर सत्ता जोगाउनुपर्छ भन्ने व्यक्तिगत स्वार्थ र प्रवृत्ति हावी भयो जसले गर्दा यो अवस्थामा आइपुग्यो । म एमालेमा हुँदा पनि यसको सिकार भएँ । नेपाली कम्युनिस्ट पार्टीलाई अन्तर्राष्ट्रिय स्तरमै बदनाम गर्ने काम भएको छ ।

तपाईंले केपी ओली, झलनाथ खनाल अनि माधव नेपालसँग लामो समयसम्म काम गर्नुभयो । यी तीन नेता कस्ता प्रवृत्तिका हुन् ?
उनीहरू सबै अवसरवादी हुन् । विधि र पद्धति नमान्ने हुन् । कार्यपद्धति र कम्युनिस्ट आचरण छोडे । उनीहरूसँग संख्या छ । पार्टीभित्र चोर, डाँका, फटाहा भित्रिएका छन् ।

बेला–बेलामा नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने कुरा उठ्छ के त्यो सम्भव छ त ?
त्यो सम्भव छ । आज नभए पनि एकदिन एउटै कम्युनिस्ट पार्टी अवश्य बन्छ । तर त्यसका लागि माक्र्सवादको नेपालमुखी प्रयोगको आधारमा मात्रै सम्भव हुन्छ । अहिलेका कम्युनिस्ट विदेशमुखी भए । माओवादी पनि भारतकै लालनपालनमा हुर्किएको थियो ।

तपाईंको पार्टी नेकपा मालेको हालत के छ अहिले ?
देशमा अचाक्ली विदेशी हस्तक्षेप बढेको छ । त्यसबाट मुलुकलाई जोगाउन सबै देशभक्त र लोकतन्त्रवादी लाग्नुपर्छ । एजेण्डाका आधारमा सबै देशभक्तहरूलाई एकीकृत गरेर वैकल्पिक शक्ति बनाउने कार्यनीतिमा हामी लागेका छौँ । मेरो दुर्घटना र कोरोनाका कारण भनेजस्तै काम हुन सकेको छैन । तर हामी लागिरहेका छौँ ।

अहिलेको सरकारमा कांग्रेस र कम्युनिस्ट गठबन्धन छ, विगतमा पनि यस्तो भएकै हो तर टिकाउ भएन । अहिलेको यो गठबन्धन कत्तिको टिकाउ होला ?
२०७२ को संविधानको धेरै पक्षमा जनताले आलोचना गरेका छन् । शासकीय स्वरूप, चुनाव प्रणालीलगायतका विषय छन् । यो गठबन्धन जनताको त्यो आवाज दबाउने गरी बाह्य शक्तिको (इन्डो–वेस्ट) आडमा बनेको हो । यो गठबन्धन धेरै समय जाँदैन ।

ओलीले पनि पछिल्लो समय भारतमुखी राजनीतिलाई अघि बढाए । सत्ताका लागि तल्लो स्तरमा उत्रेर काम गरे । ओली पनि देशभक्त र राष्ट्रवादी होइनन् । सत्तामुखी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?