भारतविरुद्ध श्रीलंकाको शानदार जित, हसरङ्गाको उत्कृष्ट प्रदर्शन

काठमाडौं। श्रीलंका भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले तीन टी-ट्वेन्टी खेलको शृंखलामा २-१ ले पराजय भोगेको छ।

कोलम्बोस्थित राजपक्ष प्रेमदासा स्टेडियममा बिहीवार खेलिएको तेस्रो तथा अन्तिम टी-ट्वेन्टी खेलमा घरेलु टोली श्रीलंकाले भारतलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निकै नै लजास्पद प्रदर्शनी गरेको थियो।

भारतको माथिल्लो पंक्तिका ब्याट्सम्यान सस्तोमै पविलियन फर्केका थिए। कप्तान शिखर धवन र विकेटकिपर सञ्जु स्यामसन शून्य रनमा आउट हुँदा अन्य ब्याट्सम्यान ऋतुराज गाइकवाड, देवदत्त पाडिकाल र नितिश रानाले क्रमशः १४, ९ र ६ रन बनाएका थिए।

भारतका लागि सर्वाधिक रनकर्ता बने स्पिनर कुलदीप यादव। कुलदीपले अविजित २३ रनको पारी खेल्दा भुवनेश्वर कुमारले १६ रन जोड्न सफल भएका थिए। निर्धारित २० ओभरमा भारतलाई ८ विकेटको क्षतिमा ८१ रनमा रोक्ने क्रममा श्रीलंकाका स्पिनर वानिन्दू हसरङ्गाले शानदार प्रदर्शन गर्न सफल भए।

हसरङ्गाले व्यक्तिगत ४ ओभरमा मात्र ९ रन खर्चेर ४ विकेट लिन सफल भए। उनले २.२५ रनको औसतमा बलिङ गर्दा भारतीय ब्याट्सम्यान निरिह देखिएका थिए। जवाफी ब्याटिङमा ८२ रनको लक्ष्य लिएर क्रिजमा उत्रेको श्रीलंकाले १४.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भएको थियो।

घरेलु टोलीका लागि धनन्जय डे सिल्भाले अविजित २३ रन बनाउन सफल भएका थिए भने हसरङ्गाले १४ रनको अविजित पारी खेले। भारतका लागि स्पिनर राहुल चेहरले ३ विकेट लिन सफल भए।

यस जितसँगै श्रीलंकाले भारतलाई तीन टी-ट्वेन्टी खेलको शृंखलामा २-१ ले पराजित गरेको छ। आफ्नो शानदार प्रदर्शनीका लागि श्रीलंकन अलराउन्डर वानिन्दु हसरङ्गा ‘म्यान अफ दि म्याच’ तथा ‘म्यान अफ दि सिरिज’ दुवै घोषित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?