काठमाडौं। आउँदो अक्टोबर महिनामा आयोजना हुने साफ च्याम्पियनशिप फुटबलको लागि नेपाल सरकारले ५ करोड रुपैयाँ दिने भएको छ।
शुक्रवार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को बैठकमा साफ च्याम्पियनशिप आयोजनाका लागि कुल १० करोड रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको छ। सो बराबरको विस्तृत प्रस्तावसहित एन्फाले दक्षिण एसियाली खेलकुद महासंघ (साफ)लाई अनुरोध गर्ने जानकारी दिएको छ।
प्रारम्भिक तालिका अनुसार बंगलादेशले आयोजना गर्ने तय भएको यस पटकको साफ च्याम्पियनशिप अन्तिम समयमा बंगलादेशले गर्न नसक्ने जानकारी दिएको थियो। त्यस पश्चात् साफले गत आइतवार नेपाललाई साफ प्रतियोगिता आयोजना गर्न औपचारिक प्रतिवेदन दिएको थियो।
सोही विषयमा छलफल गर्न बसेको एन्फाको आपातकालीन बैठकले साफलाई कुल खर्च १० करोड लाग्ने बारे जानकारी दिने निर्णय गरेको छ। सोही आयोजनाका लागि नेपाल सरकारद्वारा एन्फालाई ५ करोड रुपैयाँ श्रोत सुनिश्चितता प्रतिबद्धता पत्र पेश भइसकेको जानकारी पनि एन्फाले दिएको छ।
आयोजना बारे अन्तिम निर्णय भने साफले नै गर्नेछ। यस पटकको साफ च्याम्पियनशिपमा कुल ५ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। पाकिस्तानलाई फिफाले प्रतिबन्धमा राखेको कारण र भुटानलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको कारण यस पटकको साफ च्याम्पियनशिपमा नेपाल, भारत, श्रीलंका, माल्दिभ्स र बंगलादेशले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। साफ च्याम्पियनशिप फुटबलमा दुई पटक सेमी फाइनलको यात्रा तय गरिसकेको नेपालले फाइनलको स्वाद भने अझै चाख्न पाएको छैन।
तस्वीर : एन्फा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया