कोरोनाको दोस्रो लहरको सन्त्रासमा काठमाडौँ सुनसान हुँदा निर्मल कार्की एम्बुलेन्सको साइरन बजाउदैं सडकमा लगातार हुइँकिरहेका हुन्थे । उनले चलाएको एम्बुलेन्सको साइरनको आवाजमा कुनै बिमारीलाई नयाँ जीवन दिन अस्पताल तर्फ जाने हतारो भइरहेको जनाउने गर्थ्यो ।
कोभिड सङ्क्रमण हुँदा परिवारका सदस्यलाई समेत सहयोग गर्न हिचकिचाहट हुने अवस्थामा एम्बुलेन्स चालक निर्मल र उनको टिम निर्धक्क बिमारीलाई बोकेर अस्पताल पु¥याइरहेका हुन्थे । यो सेवा भाव दोस्रो लहरको कोरोना सन्त्रासको बेला यति धेरै बढ्यो कि उनी र उनको टिमले दैनिक २५ जना भन्दा बढी कोरोना सङ्क्रमितलाई अस्पताल पुर्याउनु पर्थ्यो । कार्की भन्छन्– दैनिक २० देखि २५ जना कोरोना सङ्क्रमितलाई हामीले मात्र अस्पताल पुर्याइरहेका हुन्थ्यौ ।
कोरोनाको दोस्रो लहरमा केबल कोरोना सङ्क्रमितको सङ्ख्या मात्र बढेन । त्यो बेला अक्सिजनको पनि व्यापक अभाव भयो । यो अभावमा धेरै बिमारीहरू घरमै छटपटाइरहेको थाहा पाएपछि उनीहरूले बिमारीहरूलाई घर घरमा निःशुल्क अक्सिजन समेत पुर्याउने काम गरे ।
घर र आफन्तले यस्तो जोखिम पूर्ण काम नगर्न बारम्बार अनुरोध गर्दा पनि कार्कीले मानेनन् । उनी भन्छन्– अरूको सेवा गर्न पाउँदा मलाई धेरै आनन्द आउँछ त्यही भएर यो काम छोड्नै सक्दिन । कोरोना सङ्क्रमितलाई अस्पताल लैजाने क्रममा आफूमा पनि कोरोना सङ्क्रमणको लक्षण देखियो । तर कार्कीले आफ्नो स्वास्थ्यको परवाह समेत नराखेर उपचार सहयोगमा खटिए ।
आफ्नो ज्यानको परवाह नराखेर आम मानिसको सेवामा लागेकै कारण निर्मल कार्कीलाई ‘लोकदृष्टि– फ्रन्टलाइनर्स’ को सातौँ शृङ्खलामा प्रस्तुत गरेका छौँ । कार्कीसँग ‘लोकदृष्टि– फ्रन्टलाइनर्स’ का प्रस्तोता लोखमणी त्रितालले कुराकानी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया