काठमाडौं । पछिल्लो तथ्यांकले लागुऔषध ओसारपसार र प्रयोगकर्ताको संख्या बढेको देखिएको छ। लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा यसको कारोबारमा संलग्न अपराधीहरू पक्राउ पर्ने क्रम पनि उल्लेख्य रुपमा बढेको प्रहरीको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/०७८ सम्मको अवधिमा यसमा संलग्न विदेशीसहित १३ हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार नेपालभर तीन वर्षको अवधिमा १३ हजार २ सय २३ जना लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न व्यक्ति पक्राउ परेका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा ५ हजार ५ सय ५८ जना, आव २०७६/७७ मा ३ हजार ३९ जना र आर्थिक वर्ष २०७७/०७८ मा ४ हजार ६ सय २६ जना गरी १३ हजार २ सय २३ लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न व्यक्ति पक्राउ परेका हुन् ।
आर्थिक वर्ष २०७६/०७७ भन्दा गत आवमा ५२.२२ प्रतिशतले लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारको घटना बढेको छ । त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषधका ३ हजार ७ सय २ वटा मुद्दा दर्ता भएको छ । त्यस्तै आव २०७६/७७ मा २ हजार ८ सय ८५ र आव २०७७/७८ मा ३ हजार १३ वटा लागुऔषधका मुद्दा दर्ता भएको विवरण प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी प्रकाउ पर्नेमा भारतीय, क्यानेडियन, फ्रान्सेली र चीनलगायत देशका नागरिक रहे पनि भारतीयको संख्या धेरै रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । त्यस्तै ३ वर्षको यो अवधिमा गाँजा २२ हजार ९ सय २९ किलोग्राम, चरेस ३ हजार ७ सय १५ किलोग्राम, हेरोइन २७ किलोग्राम, १५.७ किलो ग्राम कोकिन र अफिम ३ सय ११ किलोग्रामलगायतका लागुऔषध बरामद गरिएको छ ।
भारतसँग खुला सीमाका कारण अन्तर्राष्ट्रिय लागुऔषध तस्करले नेपाललाई तस्करीका लागि ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्नेगरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पेरु, ब्राजिललगायतका ल्याटिन अमेरिकी महादेशका अधिकांश राष्ट्रबाट नेपालमा कोकिन र हेरोइन आउने गरेको अनुसन्धानको क्रममा फेला पारिएको प्रहरी प्रधान कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
नेपालको सन्दर्भमा गाँजा, चरेसजस्ता पदार्थ तथा नरफिन, फेनारगन, डाइजापाम, बुफ्रिनोफाइनजस्ता औषधिजन्य लागुऔषधको प्रयोग बढी हुनेगरेको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिए । खुला सीमाकै कारण तराईका अधिकांश जिल्लामा लागुऔषध प्रयोगकर्ता र कारोबारीको संख्या ह्वात्तै बढेको समेत प्रहरीको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया