शिक्षा मन्त्रालयद्वारा छात्रवृत्तिको लागि परीक्षा सञ्चालन हुँदै

लोकपथ
140
Shares

काठमाडौँ । नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा विद्यार्थीहरुलाई पढाउन परीक्षा लिने भएको छ।

हरेक वर्ष ४० जना विद्यार्थीलाई बूढानीलकण्ठ स्कुलमा पढ्नका लागि छात्रवृत्ति प्रदान गर्ने गरेको शिक्षा मन्त्रालयले गत वर्ष सम्पन्न हुन नसकेको कक्षा पाँच र यस वर्षका पाँच कक्षामा पढ्न योग्यता पुगेका विद्यार्थीका लागि कक्षा पाँच र छ मा ४०/४० गरी जम्मा ८० सिटका लागि यही साउन ३० गते देशभर परीक्षा सञ्चालन गर्न लागेको हो ।

आर्थिक स्थिति कमजोर भएका र योग्य तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण आवासीय सुविधासहित बूढानीलकण्ठ स्कुलमा तथा क्षेत्रीयस्तरका अन्य विद्यालयमा समेत छात्रवृत्तिमा पढ्नका लागि संयुक्तरुपमा सञ्चालन गरिने छात्रवृत्ति छनोट परीक्षाका लागि यसपटक देशभर २४ वटा परीक्षा केन्द्र तोकिएका छन्।

विद्यालयका प्राचार्य होमनाथ आचार्यका अनुसार विद्यार्थीहरु मन्त्रालय वा विद्यालयको वेबसाइटबाट परीक्षा फाराम डाउनलोड गरी आवश्यक कागजातहरु र अन्य प्रक्रिया पूरा गरी ३० गते बिहान दस बजेअगावै तोकिएका परीक्षा केन्द्रमा बुझाई परीक्षामा सहभागी हुन पाउनेछन्।

यस वर्ष देशभरबाट कक्षा पाँच र छका लागि स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थी छनौट गर्ने कार्यक्रमका लागि सिसिएम्सीले अनुमति दिइसकेको र परीक्षा केन्द्र परेका जिल्ला प्रशासन कार्यालयले पनि परीक्षा सञ्चालनका लागि सहजीकरण गर्ने कुरा प्राचार्य आचार्यले बताएका छन्।

स्तरीय शिक्षा प्रदान गर्दै आएको बूढानीलकण्ठ स्कुलमा अध्ययन गर्ने विद्यार्थीमध्ये एक तिहाई विद्यार्थीलाई नेपाल सरकारले छात्रवृत्तिमा पढाउने गरेको छ। कोरोना महामारीका कारण गत वर्ष पाँच कक्षाको परीक्षा सञ्चालन हुन नसकेकाले यस वर्ष एकैपटक ८० जना विद्यार्थीले बूढानीलकण्ठ स्कुलमा प्रवेश गर्ने मौका पाउनेछन्। पूर्ण शुल्क तिरेर पढ्नका लागि समेत बूढानीकलण्ठमा धेरै विद्यार्थीको आकर्षण देखिन्छ । धेरै विद्यार्थीले भर्नाका लागि आवेदन गरे पनि मेरिटका आधारमा नाम निकालेका थोरैले मात्र प्रवेश पाउँछन् ।

साउन ३० गते हुने प्रवेश परीक्षामा आफ्नो पायक पर्ने केन्द्रमा विद्यार्थीहरुले परीक्षा दिन पाउनेछन् तर यसका लागि कम्तीमा तीन वर्षदेखि सामुदायिक विद्यालयमा पढेको भने हुनुपर्दछ। आदिवासी, पिछडिएका, गरिब, जनजाति र सीमान्तीकृत समुदायका विद्यार्थीलाई स्तरीय शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले बूढानीलकण्ठमा एकतिहाइ विद्यार्थीलाई पूर्ण आवासीय सुविधासहित र अन्य क्षेत्रीय विद्यालयहरुमा ती क्षेत्रका छानिएका विद्यार्थीलाई नेपाल सरकारले छात्रवृत्ति दिँदै आएको छ।

यसबाट लक्षित वर्गका विद्यार्थीहरुले निःशुल्करुपमा स्तरीय शिक्षा पाउने अवसर प्राप्त गर्दै आएका छन्। लक्षित समुदायका विद्यार्थीलाई उक्त परीक्षामा सहभागी गराई राज्यले दिएको सुविधा उपभोग गर्नका लागि सहयोग गर्न बूढानीलकण्ठ स्कुलका प्राचार्यले सबैमा आग्रह गरेका छन्। स्मरण रहोस् ३० गते हुने छात्रवृत्ति छनौट परीक्षामा सहभागी हुनका लागि विद्यार्थीले त्यसअघि नै फाराम भरी आवश्यक सिफारिससमेत लिएर परीक्षा केन्द्रमा जानुपर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?