ललितपुर, २१ चैत । कीटाणु फैलिएपछि मात्रै उपचारका लागि आउँदा कुष्ठरोग प्रभावित बिरामी अपाङ्ग बन्दै गइरहेका छन् ।रोगप्रतिको सामाजिक दुष्टिकोण बदलिन नसक्दा बिरामीले रोगको लक्षण देखिनासाथ उपचारका लागि अस्पताल जाने नगरेको आनन्दवन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताए ।समयमै उपचार गर्दा रोग निको हुन्छ, उनले भने, “शुरुमा उपचार गर्दा रोगको कीटाणु फैलन पाउँदैन तर ढिला उपचार गर्दा बिरामीको अङ्गभङ्ग हुन्छ ।”यो रोगको उपचारमा ढिलाइ गर्दा हात र खुट्टामा लाटोपना(स्पर्श शक्ति नहुने) र औंला कमजोर एंव बाङ्गो हुनथाल्छ । उनले भने, “कीटाणु प्रवेश गरेर पनि उपचार शुरु नगर्दा बिरामीले पोलेको वा किला बिजेको समेत थाहा नपाउने हुन्छ ।” ढिलो औषधि खाँदा निको नभए पनि थप अङ्गभङ्ग हुनबाट जोगिन्छ ।यो रोगलाई धर्मसँग हेरिएका कारण बिरामी समयमा उपचारका लागि अस्पताल नपुग्ने पोखरेल बताए । पहिले कुष्ठरोगलाई कुष्ठी, कोढ, महारोग वा सुनबैरी भन्ने गरेको थियो । यसलाई पूर्व जन्मको पाप, देवता लागेर वा नाग लागेर भन्ने धेरैमा विश्वास रहेको थियो । अझै पनि धेरैले यसलाई वंशाणुगत रोगका रुपमा लिने गरेका छन् ।उन भने, “अरु सरुवा रोग जस्तै कुष्ठरोगको कीटाणु शरीरमा प्रवेश गरेपछि मात्रै रोग लाग्छ भन्ने आम मानिसलाई बुझाउन खाँचो छ ।” शरीरमा धेरै कीटाणु भएका र उपचार शुरु नगरेका बिरामीबाट हावामार्फत रोग सर्छ । सरकारले सात वर्ष पहिले कुष्ठरोग निवारण घोषणा गरे पनि नयाँ बिरामीको संख्या वर्षेनि बढिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया