अश्मिता आले टोटनह्याममा अनुबन्धित

काठमाडौं। नेपाली मूलकी इंग्लिश खेलाडी अश्मिता आले मगर इंग्लिश क्लब टोटनह्याम हटस्परमा अनुबन्धित भएकी छिन्।

डिफेन्डरको भूमिकामा मैदानमा देखिने अश्मितालाई लन्डनस्थित क्लब टोटनह्यामले शुक्रवार अनुबन्धित गरेको हो। यसअघि अर्को इंग्लिश क्लब एस्टन भिल्लाबाट व्यावसायिक फुटबल खेल्दै आएकी अश्मिता गत सिजन भिल्लाको ‘प्लेयर अफ दि सिजन’ समेत घोषित भएकी थिइन्।

गत सिजन महिला सुपर लिगमा १८ खेल खेलेकी १९ वर्षीय अश्मिताले टोटनह्यामसँग दुईवर्षको सम्झौतामा हस्ताक्षर गरेकी छिन्। सन् २०१९ बाट इङ्ल्यान्ड अण्डर-१९ समुहको प्रतिनिधित्व गर्दै आएकी अश्मिताले सन् २०१८ मा एस्टन भिल्लाबाट डेब्यू गरेकी थिइन्।

आठ वर्षको उमेरमा भिल्लाको एकेडेमीमा अनुबन्धित भएकी अश्मिताले उमेर समुहमा शानदार प्रदर्शनी दिएको कारणले उनलाई सिनियर टोलीमा स्थान दिइएको थियो। नेपाली मूलकी इंग्लिश खेलाडी अश्मिता आले पूर्व गोरखा सैनिक अमृत आलेकी छोरी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?