म्यान्चेस्टर सिटीलाई पराजित गर्दै लेस्टरले जित्यो कम्युनिटी शिल्डको उपाधि

काठमाडौं। सन् २०२०/२१ प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटीलाई १-० गोलले पराजित गर्दै सन् २०२०/२१ एफए कप विजेता लेस्टर सिटीले इंग्लिश कम्युनिटी शिल्डको उपाधि उचालेको छ।

इङ्ल्यान्डको राजधानी लन्डनस्थित वेम्बली मैदानमा शनिवार खेलिएको खेलमा लेस्टरका स्ट्राइकर केलेची इहेनाचोले आफ्नो पूर्व क्लब सिटीविरुद्ध खेलको एकमात्र गोल गर्न सफल भएका थिए। निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले शानदार प्रदर्शन गरेका थिए। लेस्टरले खेलमा ४३ प्रतिशत बल पोसेसन कायम गर्दै कुल १० शट प्रहार गरेको थियो भने सिटीले ५७ प्रतिशत बल पोसेसनमा जम्मा १२ शट प्रहार गर्न सफल भएको थियो।

दुवै टोलीले खेलमा अग्रता लिने केही मौका पाए पनि शुरुवाती ४५ मिनेटमा कुनै गोल भने हुन सकेन। पहिलो हाफ गोलरहित बराबरी खेलेका यी दुई टोलीले दोस्रो हाफमा पनि अग्रता लिन सकेका थिएनन्। तर निर्धारित ९० मिनेटको खेल समाप्त हुन मात्र १ मिनेटको समय बाँकी रहँदा लेस्टरले खेलमा पेनाल्टी प्राप्त गर्यो। म्यान्चेस्टर सिटीका रक्षक न्याथानियल आकेले लेस्टरका स्ट्राइकर इहेनाचोलाई डि-बक्स भित्र फल गर्दा रेफ्री पल टियेर्नीले लेस्टरलाई पेनाल्टी प्रदान गरेका थिए।

सो पेनाल्टीलाई इहेनाचोले सरल तरिकाले गोलमा परिणत गर्दा म्यान्चेस्टर सिटी पराजित हुन पुगेको हो। यस जितसँगै लेस्टरले उपाधि जित्दै नयाँ सिजनको शुरुवात गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?