परीक्षा स्थगित : विद्यार्थी तनावमा, सम्बोधन गर्न बोर्डको छैन ध्यान

लोकपथ
217
Shares

दीपेन्द्र अधिकारी/ काठमाडौं
चौतर्फी दबाबपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित ग¥यो । बोर्डले सबै विद्यार्थीलाई कोरोना खोप माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको थियो । मन्त्रालयले सीसीएमीमा छलफल गरेको थियो । तर, सीसीएमसीले परीक्षा रोक्न आग्रह गरेको थियो ।

सीसीएमसीको परीक्षा स्थगित गर्ने अनुरोधपत्र, सामाजिक सञ्जालमा #cancelnebexam अभियान र परीक्षा ठूलो कि ज्यान ठूलो भन्ने गम्भीर प्रश्नले गर्दा बोर्ड शनिबार समेत बैठक बस्दै परीक्षा स्थगत गर्‍यो । अर्को परीक्षाको लागि १५ दिनअगावै सूचना जारी गर्ने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

अब हुने परीक्षा कुन मोडलमा गर्ने निश्चित छैन । बोर्डले परीक्षा स्थगित गरेर विकल्प नदिएपछि कक्षा १२ का ३ लाख ७२ हजारभन्दा बढी विद्यार्थीको पढाइ गिजोलिएको छ । जसले गर्दा उनीहरू अन्योलमा छन् ।

तनावमा विद्यार्थी
निस्ट स्कुलकी अनुषा अमगाईं प्रश्न गर्छिन् ‘सबै विद्यार्थीले अनलाइन पढ्न हुने तर परीक्षा अनलाइन किन नहुने ?’ यसले मानसिक स्वास्थ्यमा समेत प्रभाव पारेको भन्दै उनी थप्छिन्, ‘यसले करिअरमा समेत असर गर्छ, एक वर्ष नै रोकियो भने के गर्ने ? सामान्य अवस्था थियो भने त हामी स्नातक तह पढ्दै हुन्थ्यौँ’ ।

ग्लोबल कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत राज्ञी पौडेललाई परीक्षा स्थगित हुँदा तनाव लागेको छ । उनी भन्छिन, ‘हामी तयार थियौँ, २ पटक स्थगित हुँदा फेरि पनि तयारी गर्नुपर्ने हुन्छ, पढेको बिर्सने हुन्छ त्यसैले तनाव छ ।अनलाइनबाट परीक्षा गरेको भए हुन्थ्यो १२ कक्षापछिका लागि पनि तयारी गर्नुपर्ने हुन्छ ।’

अविलम्ब परीक्षा गर्न अभिभावकको माग
आफ्ना छोराछोरीको पढाइले गति लिन नसक्दा अभिभावक पनि चिन्तित छन् । जसरी हुन्छ परीक्षा हुनुपर्ने उनीहरूको माग छ । नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी सम्भव भएको ठाउँमा परीक्षा गर्नुपर्ने र असम्भव ठाउँमा फेरि परीक्षा तालिका निकाल्नुपर्ने माग गर्छन् ।

चरणबद्ध रूपमा सम्भव नभए परीक्षा मिति र विधि तोकिनुपर्नेमा उनको जोड छ । समस्याको समाधान दिनुपर्ने माग अभिभावकको छ । भण्डारी भन्छन् ‘विकल्प दिन नसक्नु सरकार परीक्षा बोर्डको लाचारी हो, केको लागि परीक्षा बोर्ड बसेको ? अनिश्चय दिएपछि यसले विद्यार्थीलाई अन्याय गरेको छ कुठराघात गरेको छ । मानसिक रूपमा विचलन ल्याउने कुरा गरेको छ यो सरासर गलत छ ।’

बोर्डले यसअघि परीक्षा कार्यक्रम तय गर्दा एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण, परीक्षाअघि अनिवार्य पीसीआर परीक्षण, केन्द्रमा हेल्थ डेक्स राख्नेलगायत तयारी गर्न सबै केन्द्रलाई निर्देशन दिएको थियो । उच्च माध्यमिक विद्यालय संघ (हिसान)का वरिष्ठ उपाध्यक्ष युवराज शर्मा भन्छन्, ‘परीक्षा स्थगित गर्नुपर्ने कुनै कारण नै थिएन, हामी शतप्रतिशत सुरक्षा सावधानी अपनाएर परीक्षा सञ्चालन गर्न तयार थियौँ र छौँ, परीक्षा स्थगित भएपछि विद्यार्थीलाई मानसिक तनाव हुन्छ ।’

विकल्प नदिँदा शिक्षाविद् पनि असन्तुष्ट
विकल्प नदिएकोमा शिक्षाविद् पनि असन्तुष्ट छन्, परिस्थति नै कठीन रहेकाले अहिले स्थगतको विकल्प नभएको शिक्षाविद् डा. बालचन्द्र लुइँटेल बताउँछन् । उनी भन्छन् ‘विकल्परहित त हुँदैन, अब भर्चुअल परीक्षा गर्न सकिन्छ तर त्यसको लागि सबै विद्यार्थीमा इन्टरनेटको पहुँच छैन ।

ग्रामीण भेगमा कम विद्यार्थी रहेको ठाउँमा परीक्षा गर्न सकिन्छ । एसईईको मोडलमा गर्न पनि उपयुक्त हुनसक्छ । जतिसक्दो छिटो वैकल्पिक माध्यमबाट परीक्षा गर्नुपर्छ शैक्षिक सत्र बिग्रनु हुँदैन ।’

कोरोना संक्रमणको जोखिम आकलन गरेर परीक्षा स्थगित गर्नु उपयुक्त मान्न सकिए पनि विद्यार्थीलाई अन्योलमा राख्नु न्यायोचित होइन । कोरोनाको तेस्रो भेरियन्ट आउने चेतावनी स्वास्थ्य मन्त्रालयले दिएको छ । त्यसो हुँदा बोर्डले तय गर्ने तिथि कहिले आउँछ भन्नेमा सर्वत्र शंका छ ।

शिक्षक नवराज भट्ट मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिँदा उपयुक्त हुने बताउँछन् । ‘विद्यालयले विभिन्न माध्यमबाट प्रोजेक्ट वर्कमार्फत विद्यार्थीको मूल्यांकन गर्न सक्छ, केही पाठ्यभारको मूल्यांकन विद्यार्थीले कक्षामा देखाएको प्रस्तुतिमा मूल्यांकन गरिनु उपयुक्त हुन्छ ।’ उनी भन्छन् ।

सरकारी तालुकदारहरूमा आन्तरिक मूल्यांकन वा वैकल्पिक माध्यमबाट परीक्षा गर्दा जहाज नै डुब्छ भन्ने सोचले विद्यार्थीको शैक्षिक तालिका भुमरीमा फसेको छ । आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गर्न स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयलाई प्रस्ताव गर्ने कुरा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेका थिए । सो कुराबारे जिज्ञासा राख्दा बोर्डका एक उच्च अधिकारी भन्छन्, ‘परीक्षा नै नदिई पास हुने भन्ने कुरा कहाँ छ ?’ विद्यालय तहबाट विश्वविद्यालय तहमा विद्यार्थी प्रवेश गर्ने भएकाले परीक्षा गर्नुको विकल्प नभएको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?