काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भदौ ५ सम्मका परीक्षा नरोक्ने निर्णय गरेको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले तालिका प्रकाशित भइसकेका परीक्षाहरू नरोक्ने निर्णय भएको बताए ।
उनले भने,‘वार्षिक प्रणालीका परीक्षा साउन २९ गते सकिन्छ। सेमेस्टर प्रणालीका परीक्षा भदौ ५ गतेसम्म चल्छन्। यी कुनै पनि परीक्षा रोकिँदैन।’
कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका बेला परीक्षाहरू निरन्तर सञ्चालन गर्ने कि, के गर्ने भन्नेबारे आज त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद बैठक बसेको थियो।
स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरू हाल सञ्चालनमा छन्। केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुँदैछ।
परीक्षा नियन्त्रक जोशीका अनुसार परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न भनिएको छ । अहिले सञ्चालन भई आएका परीक्षाहरू यथावत् सञ्चालन गरिने पनि उनले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया