वासिंगटन, २२ चैत । संसारकै प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्ताका ८ करोड ७० लाख डाटा दुरुपयोग गरेको स्वीकार गरेको छ ।केम्ब्रिज एनालिटिका नामक राजनीतिक परामर्शदातृ संस्थाले पहिला सोचिए भन्दा निकै बढी अर्थात् ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण लिएको फेसबुकको भनाइ छ । ती मध्ये ११ लाख प्रयोगकर्ता बेलायतका रहेका छन् ।गोप्य जानकारी सार्वजनिक गरेका क्रिस्टोफर विलीले यसअघि करिब ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको बताएका थिए ।फेसबुकका प्रमुख मार्क जुकर्बर्गले प्रयोगकर्ताका विवरण चुहावटका विषयमा धेरै गर्न सकिने भएपनि त्यतातर्फ ध्यान नपुगेको स्वीकार गर्दै यस विषयमा थप काम गरिने उल्लेख गरेका छन् ।एक पत्रकार सम्मेलनमा जकर्बर्गले भने, ‘मलाई लाग्छ हामीले हाम्रो जिम्मेवारीको दायरा फराकिलो बनाउन आवश्यक छ ।’उनले फेसबुकको काम औजारहरू बनाउने मात्र नभई ती ‘औजारहरूलाई प्रयोगकर्ताहरूले कसरी प्रयोग गर्छन् र त्यसबाट के परिणाम निस्कन्छ भन्ने विषयमा समेत जिम्मेवारी’ लिनुपर्नेमा जोड दिए ।जुकर्बर्गले प्रयोगकर्ताका विवरण चुहावटलाई बन्द गरिसकेको र पछिल्लो प्रकरणका विषयमा फेसबुकले आगामी दिनमा आन्तरिक छानबिन गर्ने जनाएका छन् ।‘दिस इज योर डिजिटल लाइफ’ भनिने प्रश्नोत्तर जडान गर्ने ३ लाख ५ हजार प्रयोगकर्ताको माध्यमबाट विवरणहरू चुहिएको फेसबुकको अनुमान रहेको बीबीसीले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया