के त्रिविका विद्यार्थीलाई चाहिँ कोरोना सर्दैन ?

लोकपथ
266
Shares

दिपेन्द्र अधिकारी-काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै सबैखाले परीक्षा स्थगित गर्न गरेको सिफारिस अटेर गर्दै त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्ड पालना समेत नगराई परीक्षा सञ्चालन गरिरहेको छ । यसबाट विद्यार्थीको स्वास्थ्यमाथि खेलबाड त हुने नै भयो, कक्षा सञ्चालन अनलाइनबाट गर्ने विश्वविद्यालयले परीक्षाचाहिँ जोखिम हुन्छ भन्ने जान्दाजान्दै भौतिक उपस्थितिमै गराउने विचित्र शैली अपनाएको छ । यसले प्रश्नको उत्तर लेख्नुभन्दा कोरोना सर्ला भन्ने त्रासका बीच विद्यार्थीहरू परीक्षा दिइरहेका छन् ।

उच्च शिक्षाको ७० प्रतिशत भार धानेको त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नाताकोत्तर तहको परीक्षा जारी राखेको छ, स्वास्थ्य मन्त्रालयको सिफारिसविपरीत । स्नातक प्रथम वर्षमा साढे २ लाख तथा स्नातकोत्तर तहमा हजारौँ विद्यार्थी परीक्षा दिइरहेका छन् । कक्षा १२ को निर्धारित परीक्षा रोकिए पनि त्रिविले दोहोरो मापदण्ड अपनाउँदै परीक्षालाई निरन्तरता दिइरहेको छ ।

त्रिविले हामी सुरक्षित छौँ भनेर मानसिक रूपमा तयार पार्न नसकेको विद्यार्थीहरूको गुनासो छ । परीक्षार्थी देवराज गुरुङ भन्छन् ‘परीक्षा हलभित्र एक बेन्चमा एक जना छन् ठीकै छ तर हलमा प्रवेश गर्ने समयमा हुने भीडले कोरोना संक्रमण हुन्छ कि भन्ने त्रास छ । कोरोनाको भ्याक्सिनको व्यवस्था भएन ।’ त्रिचन्द्र क्याम्पसमा अध्ययनरत कुमार श्रेष्ठ दूरी कायम नभएको बताउँछन् । ‘उत्तरपुस्तिकामा लेख्नेभन्दा पनि कोरोना लाग्छ कि भन्ने डर छ । मेन्टल प्रेसरमा हुन्छौँ ।’ उनले भने । आरआर क्याम्पसमा परीक्षा हलबाट बाहिरिँदै गर्दा विद्यार्थी रोजी बोहरा भन्छिन्, ‘कतिपय साथीहरूलाई पोजेटिभ पनि आयो भन्छन्, उनीहरूको नाम त नभनौँ । परीक्षा नदिऔँ फेल भइन्छ, दिऔँ अरुलाई पनि सर्ने डर । प्लस टूका विद्यार्थीको चाहिँ लाइफ अनि त्रिविमा पढ्ने स्नातक र स्नातकोत्तर तहका विद्यार्थीको चाहिँ लाइफको भ्यालु भएन ।’

 

No description available.

परीक्षा हलमा पानी समेत उपलब्ध नभएको विद्यार्थीको गुनासो छ । आरआर क्याम्पसका प्रमुख डा. जीवनधर ज्ञवाली पहिलो दिन नै परीक्षार्थीलाई सूचित गरिएको बताउँछन् । ‘कोरोना संक्रमणको जोखिम नहोस् भनेर पहिलो दिनै हामीले मास्क, स्यानिटाइजर, पानीको प्रबन्ध आफैँ गर्न सूचित गरेका थियौँ ।’ तीन सिफ्टमा परीक्षा चले पनि कक्षाकोठा निर्मलीकरण नगरिएको विद्यार्थीको गुनासो थियो । सोबारे क्याम्पस प्रमुख डा. ज्ञवालीसँग कुरा गर्दा त्यहाँ कोरोना संक्रमित विद्यार्थी नै नभएकाले निर्मलीकरण गर्नुपर्ने कारण नै नभएको बताए । क्याम्पसमा एक सिफ्टमा ६ सयसम्म विद्यार्थी थिए ।

त्रिभुवन विश्वविद्यालयमा २ प्रकारका कार्यक्रम सञ्चालनमा छन् : वार्षिक प्रणाली र सेमेस्टर प्रणाली । वार्षिक प्रणालीको परीक्षा परीक्षा नियन्त्रण कार्यालय बल्खुले सञ्चालन गर्दछ भने वार्षिक प्रणालीको परीक्षा सम्बन्धित डीन कार्यालयले गर्छ । यी दुई निकायबीच समन्वय नहुँदा जारी स्नातक र स्नातकोत्तर तहको परीक्षा व्यवस्थापनमा समस्या देखिएको छ । वार्षिक परीक्षा बिहानीको समय र सेमेस्टर प्रणालीको परीक्षा दिउँसो हुँदा परीक्षा केन्द्रबाहिर ठूलो भीड देखिन्छ ।

शुक्रबार सबै परीक्षा स्थागित गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिसपछि परीक्षा के गर्ने भनेर त्रिवि पदाधिकारीबीच ३ घण्टा वार्ता भयो तर निष्कर्ष निस्केन । आइतबार ४ घण्टाको बैठकपछि भदौ ५ गनेसम्म जारी परीक्षा नरोक्न निर्णय भएको परीक्षा नियन्त्रक पु्ष्पराज जोशीले जानकारी दिए । ‘सीसीएमसीलाई परीक्षा केन्द्रको विवरण पठाएका छौँ र अनुगमन गर्न आग्रह गरेका छौँ, २ वर्षसम्म परीक्षा रोकिँदा क्यालेन्डर प्रभावित भयो, थोरै विद्यार्थी छन् त्यसैले नरोक्ने निर्णय गरेका हौँ’, उनले भने ।

व्यवस्थापन संकायका डीन डा. डिल्लीराज शर्मा विद्यार्थीको भविष्य र त्रिविको क्यालेन्डर नबिगार्ने भनेर नै परीक्षा लिएको बताउँछन् । वैकल्पिक माध्यमबाट परीक्षा लिने विषयमा छलफल गर्‍यौँ, हामीकहाँ अनलाइनबाट परीक्षा फारम भर्न समेत सबै विद्यार्थीको पहुँचमा पुगेन भने परीक्षा कसरी सम्भव होला रु त्यसैले गरेनौँ । आगामी दिनमा भौतिकरूपमा परीक्षा हुन नसके वैकल्पिक माध्यमबाट परीक्षा गछौँ ।’

त्रिविले हाल सञ्चालन गरिरहेको परीक्षा केन्द्रहरूमा स्वास्थ्य मापदण्डको पूरै बेवास्ता गरिएको पाइन्छ । शैक्षिक क्यालेन्डार पालना गर्न परीक्षा गर्नु परेको विवशता विश्वविद्यालयका अधिकारीहरूले देखाएका छन् । तर भौतिक परीक्षाको विकल्प नदेख्ने रुढीवादी सोचका कारण शैक्षिक क्यालेन्डर भत्किएको हो । अनलाइन परीक्षा लिएको भए यसरी क्यालेन्डर मिचिने नै थिएन । विद्यालय तहको क्यालेन्डर नमिचिने अनि त्रिभुवन विश्वविद्यालयको मिचिने विडम्बनाको अवस्था आएको छ । ‘हाम्रो परीक्षा प्रणाली भौतिक रूपमा गर्ने छ । स्थानीय तहलाई जिम्मेवार बनाई कम जोखिम भएका क्षेत्रमा परीक्षा गरी हटस्पटमा रोक्न सकिन्थ्यो, त्यसो गरिएन ।’ शिक्षाविद् शिवबहादुर भण्डारी भन्छन् । चरणबद्ध रूपमा परीक्षा गर्दा विद्यार्थीको मनोबल बढ्ने भण्डारीको मत छ ।

कोरोना संक्रमणको तेस्रो लहरको जोखिम छ । यो बेला वैकल्पिक माध्यमबाट परीक्षा गराउन विश्वविद्यालय तयार हुनुपर्दछ । नत्र अहिले जस्तै विद्यार्थीहरू दुई शैक्षिक सत्रसम्म एकै कक्षामा पढिरहन बाध्य भइरहनेछन् । त्यसको जिम्मेवार विश्वविद्यालय आफैँ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?