अनुराज्ञी शर्मा-
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार कोभिड १९ विरुद्धको भेरोसेल खोप अभियान २०७८ असार २९ देखि सञ्चालन गर्ने भनी सूचना प्रकाशित भयो । जसमा खोप लगाउन मिल्ने नागरिकको लागि मापडण्ड समेत तोकी अभियान सञ्चालन गर्ने गराउने व्यवस्थाको अनुरोध गरिएको थियो । तोकिएको प्राथमिकतामा रही जिल्ला कोभिड खोप समन्वय र अनुगमन समितिको निर्णयअनुसार खोप प्रदान गर्न र अन्यथा भएमा प्रचालित कानुनबमोजिम हुने व्यहोरा समेत उल्लेख गरिएको थियो ।
सूचनापत्र पढ्नासाथ यसपटक भने जसरी पनि खोपकेन्द्रमा गई त्यहाँको वास्तविक अवस्थावारे तथ्य संकलन गर्छु भनेर निधो गरेँ । पहिलो पटक खोप नेपाल भित्रिँदा अधिक नागरिकलाई खोपसम्बन्धी सही जाानकारी नभएकाले धेरैले खोप लगाउने इच्छा गरेकै थिएनन् । तैपनि मैले सामाजिक सञ्जालमा हेर्दा खोप लगाउन गएका कतिपय नागरिकहरु खोपकेन्द्रमा भएका भीडभाडको कारण कोरोना संक्रमित भएर घर फर्कनुपरेको थियो ।
आखिर के कारणले यो सबै समस्या देखापर्यो र यसको सत्य के रहेछ भनेर जान्ने इच्छा थियो । एक यस देशको नागरिक र दोस्रो जनस्वास्थ्यको विद्यार्थी भएकाले पनि यस विषयमा गहिरिएर हेर्नु आवश्यक थियो र मेरो कर्तव्य पनि ।
बुझ्दै जाँदा बनेपामा असार २९ मा कोभिडविरुद्धको भेरोसेल खोपको कार्यक्रम रहेको जानकारी प्राप्त गरेँ र म असार २९ मा बनेपा खोपकेन्द्रमा पुगेँ । त्यहाँ नगरपालिकाले फरक–फरक दिनमा फरक–फरक वडामा खोप अभियानको व्यवस्था मिलाएको रहेछ । म ८ नं वडाको खोपकेन्द्रमा पुग्दा त कार्यक्रम सुरु भइसकेको थियो ।
खोपकेन्द्रमा जम्मा भएका नागरिकतिर आफ्नो आँखा चारैतिर घुमाएँ, खोप लगाउन भनी घन्टाँैदेखि लाइनमा उभिएका माानिसहरूको भीड थियो भने अर्कोतर्फ रमिता हेर्नेको जमात थियो । देशको राजधानी रहेको ठाउँबाट नजिक रहेको जिल्ला शैक्षिक अवस्थाको राम्रो विकास भएको स्थान भएको र जम्मा भएका नागरिक हेर्दा समेत अधिकांश शिक्षित नै देखिन्थे । तर नेपाल सरकारले कोभिडको लागि पालना गर्ने स्वास्थ्य सतर्कता र भौतिक दूरी एकादेशको कहानीजस्तै भएको देखेँ ।
न कसैको मुखमा मास्क छ, कोही खोकिरहेको, कोही मुख खोलेर गफ गर्ने र हाँस्ने गरिरहेका देखिन्थे । केही सचेत नागरिकले मास्क लगाएर गए पनि लाज हुने डरले फुकालेर हातमा बोकेका भनौँ वा चिउडोमा लगाएर बसेका थिए । खोप अभियानलाई व्यवस्थित गर्न खटिएका सामाजिक परिचालक पनि द्विविधामा देखिन्थे, जे होस् खोप कार्यक्रम भने चलिनै रहेको थियो ।
खोप चाहिएको भन्दा थोरै आएकाले अन्ततः बाँकीलाई घर फर्कन अनुरोध गरियो । घन्टौँ लाइनमा बसेकाहरू खोप लगाउन नपाएर निराश भई आफ्नो आक्रोश व्यक्त गर्नथाले । निकै बेरपछिको रस्साकस्सीपछि बाँकीलाई भोलि पनि खोप लगाउने कार्यक्रम रहेको जानकारी गराएर घर फर्काइयो । दिनभरिको गतिविधिबाट मन खिन्न बनाई म पनि घर फर्केँ ।
बाटामा मेरो मनभित्र अनेक प्रश्न उठे । के सबै खोपकेन्द्रहरूको व्यवस्थापान यस्तै हो ? के सरकारले तोकोको उमेरसमूह र मापदण्डअनुसरका मान्छेले मात्र खोप लाए त ? आज फर्काएकाले भोलि लगाउन पाउँछन् त ? स्थानीय पदाधिकारी, सुरक्षा निकायको भूमिका यस्तै हो त ? हाम्रो समाजको विकसित रूप यही हो त ? हामी यसरी नै अगाडि बढिरहने हो भने हामीले सोचेको समाज र विकास सम्भव होला त ? यस्तै अनुत्तरित प्रश्नहरू खेलाउँदै अर्को दिन पनि अरु खोपकेन्द्रमा जाने निश्चय गरेँ।
असार ३० मा हिजोको खोपकेन्द्रको गतिविधि नियाल्ने उद्देश्यका साथ बिहानै बनेपाको लागि निस्केँ । आज भने कार्यक्रम सुरु हुनुअगावै पुगेकाले खुसी थिएँ तर मेरो खुसी भने धेरै समय भने टिक्न सकेन । कारण थियो त्यहाँको व्यवस्थापानको भद्रगोल अवस्था ।
हिजोको भन्दा यो अवस्था निकै अनियन्त्रित र बेग्लै थियो । तुलनात्मक हिसबले हेर्ने हो भने, हिजोको भन्दा आज खोप लगाउन आउनेको संख्या दोब्बर र खोप भने ज्यादै न्यून थियो । भीड त्यस्तै, भौतिक दूरीको के कुरा गरौँ, एक–अर्कालाई ठेल्दै उभिरहेका थिए, मास्क लगाउनु त परको कुरा थियो ।
खोप लगाउन सुरु के भएको थियो अगाडि नाम टिप्न राखिएको डेस्कमा एक्कासि भीड भयो, मानौँ मेलामा कुनै जादुगरले चटक देखाउँदै छ । ठेलामठेल त्यो दृश्य अचानक मेरो ध्यान एउटा आक्रोशित र पीडाले भरिएको आवाजमा पर्नगयो ।
के रहेछ भनेर बुझ्न जाँदा त उहाँ बैंकमा कार्यारत महिला कर्माचारी हुनुहुँदोरहेछ। हिजो पनि घण्टौँ लाइनमा बसेर अन्त्यमा खोप सकियो भोलि आउनू भनी फर्काएको र आज फेरि बैंकको कर्माचारीलाई नदिने, ५५ वर्षमाथि र शिक्षक/शिक्षिका, गाडीका चालक र सहचालकलाई मात्र दिने भनेको सुनेर आफ्नो दुःख व्यक्त गर्नुभएको रहेछ ।
उहाँले उठाउनुभएको प्रश्न मलाई एकदमै चित्त बुझ्यो, जबकि हिजो बैंक, विश्वविद्यालय/विद्यालयमा कार्यरित कर्मचारी दुवैलाई खोप प्रदान गरिरहेको थियो भने आज विश्वविद्यालय/विद्यालयका कर्मचारीलाई मात्रै किन ? यसको जिम्मा कसले लिने ?
त्यहाँ बुझ्दै जाँदा आज पनि धेरै नक्कली परिचयपत्र लिएर खोप लिन आएको देखियो । विडम्बना, बुझ्दै जाँदा पहुँचवाला र आफन्तले सरकारले तोकेको मापडण्डविपरीत खोप लगाइरहेका थिए । त्यसको निरीक्षण कसले गर्ने, त्यहाँको स्थिति हेर्दा यस्ता अनेकौँ प्रश्नहरू उठ्ने गर्थे जसको उत्तर त्यहाँ दिने सायदै कोही थिए । खोपको उपलब्धता कम हुनु पनि त्यस्तो हुनुको एउटा कारण थियो ।
म पुनः अर्को खोपकेन्द्रमा पुगेँ, त्यहाँ पनि हालत उस्तै थियो । भिन्न के मात्र थियो भने त्यहाँ एकै जनाले ४र५ वटा खोप कार्ड लिएर आफ्नो घरपरिवरलाई बोलाई खोप समेत लगाएको देखेँ । यसपटक भने मलाई पनि केही भन्न मन लाग्यो त्यहाँ लाइनमा खोप लगाउन उभिएका नागरिकलाई प्रश्न गरेँ । के तपाइँहरुले भौतिक दूरीको पालना गर्नु पर्दैन ? आखिर हतार किन ? अनपढ स्वास्थ्य चेतना कम भएका नागरिकलाई चेतना दिने दायित्व यहाँहरूको पनि हैन ? राज्यले नीति नियम बनाउँछ त्यसको इमानदारिताका साथ पालना गर्ने÷गराउने दायित्व तपाईंहरूको पनि हैन ? आखिर कहिलेसम्म हामी अशिक्षित व्यवहार देखाउने ?
मैले एकैचोटी यी यावत प्रश्नहरू चिच्याउँदै कराएछु, साँच्चै भन्ने हो भने नेताले जस्तो भाषण पो गर्न पुगेछु । सबै जना मलाई एकोहोरो हेरिरहेका थिए भने स्वास्थ्य मापडण्ड पनि पालना गरेका थिए । आखिर हुँदोरहेछ त कराउनै पर्ने ? गर भन्नै पर्ने ? मलाई दुवै खोपकेन्द्रको अवस्था, त्यहाँको व्यवस्थापन, मानिसको सोचाइ र व्यवहार देख्दा र म स्वयम् हतास थिएँ । त्यत्तिकैमा खोप सकियो भनी खबर आयो ।
अघिसम्म १५० सम्मलाई खोप पुग्छ भनेर भनिएको अहिले ५० लाई खोप नलगाउँदै खोप सकियो भनेको सुन्दा सबै आक्रोशित भए । विवाध बढ्दै जाँदा व्यवस्थपन समिति र लाइनमा उभिएकाबीच झडप हुने अवस्था आयो ।
अन्त्यमा घर पुगेर केही आरामपछि दुई दिनको अवलोकन गरेका गतिविधि पुनः ताजा भएर आयो । खोपकार्य सही ढंगले सञ्चालन गर्न मापडण्ड समेत प्रकाशित भयो तर त्यो पालना भएन । त्यसको कार्यान्वयन खै भएको ? व्यवस्थित रूपमा कार्यक्रम सञ्चालन गर्नु भनी पत्रमा अनुरोध पनि गरियो तर कसैले अनुशरण गरे त ? खोप सञ्चालन भएका केन्द्रमा सही तरिकाले सञ्चालन भएको छ कि छैन भनेर खै कसले अनुगमन गर्यो ? खोपकेन्द्रको अनुगमन गर्न टोली खटाउनु पर्दैन ? खोप मापदण्डमा तोकिएका नागरिक मात्र खोप लागाइराखेका छन कि अन्यले पनि लगाए, त्यसको रेकर्ड राख्नुपर्दैन ? सूचनापत्र प्रकाशित भएपछि त्यहीअनुसार स्थानीय सरकार र प्रशासनले व्यवस्थापन मिलाउनु पर्दैन ? स्थानीय जनप्रतिनिधिको भूमिका खै ? के सबै कार्य स्वास्थ्य मन्त्रालयको मात्र हो ? यस किसिमको अवस्था आउन नदिन भावी दिनमा खोप कार्यक्रम व्यवस्थापन र सञ्चलनमा कमी कमजोरी आउन नदिन सबै सरोकार निकायको ध्यान जाओस् ।
(शर्मा स्नातक तह पब्लिक हेल्थकी विद्यार्थी हुन् ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया