इन्जिनियरिङ कलेजमा शुल्क विवाद : कलेज बन्द गरेर प्रशासन सम्पर्कविहीन

कलेज छिर्न तीन लाख तिरियो बल्ल–बल्ल केइसी छिरियो हाम्रो कलेजमा
दुई वर्ष कलेज नै आइएन त्यही भएर डिस्काउन्ट नै पाइएन हाम्रो कलेजमा
भीपी गर्ने गाडीचाहिँ अल्टोमा विद्यार्थीको भविष्य खाल्डोमा हाम्रो कलेजमा
पेल्नसम्म लास्टै नै पलेको पेल्नसम्म लास्टै नै पेलेको हाम्रो कलेजमा …….

थपडी र गितार बजाउँदै कान्तिपुर इन्जिनियङि कलेजमा विद्यार्थीले गाएको गीत अहिले सामाजिक सञ्जालमा भाइरल छ । उनीहरूले शोकसभा गरेर कलेजलाई व्यङ्ग्य कसेका छन् । भित्तामा झुण्ड्याइएको ब्यानरमा लेखिएको छ, ‘कलेज प्रशासन शोकसभा, हराएको प्रशासन खोज्दै हामी विद्यार्थी’ ।

यतिबेला कलेज प्रशासन बेपत्ता छ भने शैक्षिक र प्रशानीक काम ठप्प छ । उता हिमालयन इन्जिनियरिङ कलेजमा विद्यार्थी रिले अनशनसम्म पुगेका छन् । त्यहाँ पनि शैक्षिक र प्रशानिक काम ठप्प छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको सम्बन्धनमा चलेका काठमाडौंका ९ वटा निजी कलेजका विद्यार्थी रिले अनशन, धर्नालगायतका आन्दोलन गरिरहेका छन्।

प्रयोगात्मक कक्षा लिनुपर्ने इन्जिनियरिङ विधाको पढाइ वैकल्पिक माध्यमबाट गर्ने तर, शुल्कचाहिँ ढाड सेकिने गरी लिने क्याम्पसहरूको शैलीप्रति विद्यार्थीको गम्भीर आपत्ति छ । हिमालय कलेज अफ इन्जिनियरिङ र कान्तिपुर इन्जिनियरिङ कलेज मात्र होइन काठमाडौँ इन्जिनियरिङ कलेज, एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्ट, नेसनल कलेज अफ इन्जिनियरिङ, जनकपुर इन्जिनियरिङ कलेज, क्याथफोर्र्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, सगरमाथा इन्जिनियरिङ कलेज, ललितपुर इन्जिनियरिङ कलेजमा शुल्कको विवाद छ । उपत्यकाको ख्वप कलेज अफ इन्जिनियरिङ कलेजमा मात्र शुल्क विवाद छैन ।

कोरोना संक्रमणको जोखिमबीच विद्यार्थी हुलहुज्जत गरी आन्दोलन गर्न बाध्य छन् । उनीहरूलाई कोरोना भाइरसभन्दा ठूलो भाइरस त अनलाइन पढाएर पूरै शुल्क लिने कलेजको लुटाहा प्रवृत्ति लागेको छ । शुल्ककोे समायोजन र सिलिङ तोक्नुपर्ने उनीहरूको मुख्य माग हो ।

साउन २२ मा हिमालयन कलेज अफ इन्जिनियरिङ कलेजका प्रधानाध्यापकलाई विद्यार्थीले कार्यकक्षमै घेरेर शुल्क समायोजनको माग राखे । उनीसँगै अन्य तीन जना शिक्षक पनि सँगै थिए । कोही शिक्षकको घरमा समस्या थियो उनलाई घर जान दिइयो । औषधि सेवन गर्नुपर्ने शिक्षकलाई औषधि पनि उपलब्ध गराइयो ।

कलेज प्रशासनले विद्यार्थीले बन्दी बनाएको भन्दै हतियारसहित प्रहरी प्रशासन प्रवेश गराएर विद्यार्थीलाई कुटपिट ग¥यो । ‘कलेज प्रशासनले हामीलाई दमन ग¥यो, प्रहरीले बन्दुक र बुटले बजारेर विद्यार्थीलाई दुव्र्यवहार गर्दै निकाल्यो’, विद्यार्थी विवेक ज्ञवाली बताउँछन् । कलेज प्रशासनले केही निर्णय दिन नसकेकाले आफूहरू आन्दोलन गर्नुपरेको उनले बताए ।

प्रयोगात्मक शिक्षणमा आधारित इन्जिनियरिङ शिक्षाको पढाइ अनलाइनमार्फत गराउनु बाध्यता हो । तर, भौतिक रूपमा कक्षा भएबराबर शुल्क कसरी तिर्नु ? भन्ने विद्यार्थीको प्रश्न छ । ‘अनलाइन पढ्नु र युट्युब हेर्नु उस्तै भएको छ, कसरी पूरा शुल्क बुझाउने ?’ अर्का विद्यार्थी नितेश ठाकुरको प्रश्न छ ।

अनलाइमार्फत पढ्दा आफूहरूलार्ई अप्ठ्यारो भएको गुनसो गर्दै कलेजले प्याकेज सिस्टमा शुल्क उठाएकाले उक्त शुल्कमा छुट माग गरेको ठाकुर बताउँछन् । ‘हामी पनि गरिबका छोराछोरी हौँ लकडाउनमा अभिभावकको रोजीरोटी गुम्यो पूरा पैसा कसरी तिर्ने ? मोबाइल डेटा, ल्यापटपलगायतका सम्पूर्ण शैक्षिक सामग्री आफैँले व्यवस्था गर्नुपर्ने भएपछि नपरेको बढी खर्च आफूहरूले किन तिर्नु ?’ अर्का विद्यार्थी मिलनबाबु खत्रीको प्रश्न छ । कलेजको शुल्कको प्याकेजमा आफू र आफ्ना लागि प्रयोग गरिएका सम्पूर्ण विषयवस्तुको शुल्क तिर्न आफूहरू तयार रहेको खत्री बताउँछन् ।

डीन कार्यालय परीक्षा नियन्त्रण महाशाखाले बीई बी आर्कको साउन ३१ सम्म परीक्षा फारम भर्ने सूचना निकालेको छ । तर, अहिलेसम्म पढाइ प्रभावकारी छैन । पुस्तकलगायतका अध्ययन सामग्री लिन गयो कलेजको पुस्तकालयमा ताला झुण्डिएको हुन्छ । कलेजले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै परीक्षा फारम भर्नका लागि समेत पहल नगरेको अर्का विद्यार्थी आर्जन प्याकुरेल बताउँछन् । ‘कलेजले मानसिक अपराध गरेको छ, हामीले लेखाशाखामा मात्र ताला लगाएका हौँ तर कलेजले पुस्तकालय र प्रशासनमा ताला लगाएर अरुको पढाइ समेत रोक्यो’ उनले भने ।

विद्यार्थीको समस्या भए पनि प्रशासन बोल्न चाहँदैन । उनीहरू आफ्नो समस्या लिएर जिल्ला प्रशासनसम्म पुगेका छन् तर सुनुवाइ भएको छैन । अब परीक्षाको फारम भर्ने समय थप गर्न डीन कार्यालय जाने विद्यार्थी विवेक ज्ञवाली बताउँछन् । कलेजहरूमा विद्यार्थीको समस्या समाधान गर्न अनेरास्ववियु, क्रान्तिकारीले समेत अनुचित शुल्क फिर्ताको माग गरेको छ ।

किशोर कुमार गौतम– हिमालय कलेज अफ इन्जिनियरिङ
यो हाम्रो सामूहिक निर्णय हो । तपाईंले लेखाशाखामा कुरा गर्नुस् । मैले केही बोल्न मिल्दैन । यो विषयलाई राजनीतीकरण गरियो । अनेरास्ववियुको विज्ञप्ति हेर्नुस् । अब चलखेल हुन थाल्यो । हामीले विश्वविद्यालयको परिधिभित्र रहेर शुल्क लिएका हौँ ।

त्यो भए राजनीतिक रंग दिन खोजिएको जस्तो लागेको हो तपाईंलाई ?
मैले त्यसो भन्न मिल्दैन ।
शशिधरराम जोशी– डीन, इन्जिनियरिङ अध्ययन संस्थान
विद्यार्थीको आन्दोलनले परीक्षा नै स्थगित हुन्छ कि भन्ने डर छ । संस्थानले सम्बन्धन दिएको मात्र हो । ती निजी कलेज हुन् । शुल्कको विषयमा कलेज र विद्यार्थीबीच सहमति हुनुपर्छ । २०६६ तिर हुनुपर्छ विश्वविद्यालय, कलेज र विद्यार्थीहरूको सर्वपक्षीय समिति गठन गरेर शुल्कको सिलिङ तोकिएको छ । त्यहाँ कति वर्षमा कतिका दरले बढ्ने भन्ने कुरा पनि स्पष्ट छ ।

पहिले नै भएको सहमति र नियमअनुसार लिएको शुल्कमा विश्वविद्यालयले हस्तक्षेप गर्न मिल्दैन । डीन कार्यालयमा गुनासो लिएर आउने विद्यार्थीको कुरा भन्नुभयो, हामी मिति सार्न सक्छौँ । भदौको ४–५ सम्म अन्तिम मिति र दोब्बर दस्तुरमा एक हप्तासम्म थप गर्न सक्छौँ । कोरोना संक्रमण बढ्दो छ । भर्चुअल र फिजिकल दुवै मोडलमा परीक्षाको तयारी गर्दै छौँ । जुन सम्भव छ त्यही गर्छौँ, क्यालेन्डर प्रभावित हुन दिँदैनौँ ।

विद्यार्थीको समय घर्काउँदै पूरै पैसा असुल्ने नीति कलेजहरूले अख्तियारी गरेका छन् । अघिल्लो वर्षका विद्यार्थीले आन्दोलन गरेर लेखाशाखामा तालाबन्दी गर्दा आफैँले शैक्षिक र प्रशासनिक काम ठप्प पार्दै पछिल्ला वर्षको विद्यार्थीमा सिनियरहरूले ताला लगाए भन्दै भ्रम छरिरहेका छन् कलेजहरू । सो मामिलामा हिमालय र कान्तिपुर अगाडि छन् । शैक्षिक संस्था भनेको समाजमा प्रतिष्ठा कमाउने र शिक्षाको दियो बाल्ने अभिप्रायले खुलेका हुन्छन् । तर, विद्यार्थीको आन्दोलनलाई सम्बोधन नगरी कलेज प्रशासन सम्पर्कविहीन हुँदा कलेजहरू विद्यार्थीलाई गलाएरै अघि बढ्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?