कैलाली । कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ लालबोझीकी स्थानीय लक्ष्मी चौधरी कान्द्रा नदीलाई हेर्दै थिइन् ।
नदीको बहाव बढेर धार परिवर्तन गर्दै उनको घर आँगनमै पुग्न लागिसकेको थियो । काखमा छोरा समातेर नदी छेउमै उभिएकी उनी भन्दै थिइन, ‘आँगनमै नदी पुग्न लागेको छ । कटान रोक्न कसैबाट पहल भएको छैन । हामीलाई कुनै सरकारले हेरेनन् ।’
हरेक वर्ष हुँदै आएको कटान र घरपरिवार विस्थापित परेको दृष्य देखेकी उनी त्रसित लयमा भन्दै थिइन, ‘बस्ने जग्गा कटान गरे कहाँ बस्ने होला ?’
सोही बस्तीका लक्ष्मण चौधरी नदीले माटो कमजोर भएका क्षेत्रमा पाईला टेक्दै सो माटो खसालीरहेका थिए । माटो नदीमा फाल्दै उनी भन्दै थिए, ‘धस्सिन लागेको यो बाटोमा बालबच्चाहरुको कदम परे नदीमा जान सक्छ ।’ उनी बालबालिकालाई सुरक्षित राख्न कमजोर माटोलाई नदीमा फालिरहेका थिए ।
भगतपुर बस्तीमा पसल गर्दै आइरहेका विपदराम चौधरीसहित केही स्थानीयहरुले कान्द्रा नदीले कटान नगरोस भनेर नदीमा माटो हालीरहेका थिए । नदीको बहाव बढेसंगै धार परिवर्तन गर्दा कटान हुनबाट रोक्न उनीहरु माटो हालीरहेका थिए । विपदरामले भने, ‘नदीको आवाज आयो र बहाव हेर्दा बढेको थियो । कटान हुन नदिन माटो ल्याएर समसम्याइरहेका थियौ ।’
पूर्वतर्फ कर्णाली नदी, दक्षिणमा मोहना, उत्तरबाट बग्ने कान्द्रा, काँडा र पथरैयाको बीचमा भजनी नगरपालिका पर्छ । अलि ठूलो पानी पर्नेबित्तिकै कुन्द्रा नदी गाउँमा पस्ने हो भन्ने चिन्ताले पिरोलिन्छन् नगरबासी ।
‘चारैतिर नदी भएपछि वर्षायाममा सुरक्षित हुने कुरै भएन,’ भजनी नगरपालिका–४ का प्रविन चौधरी भन्छन्, ‘वर्षा सुरु हुनेबित्तिकै बाढीको चिन्ताले तर्साउँछ, ३ महिना राम्ररी सुत्न पनि सकिदैन ।’ उनले कुनै पनि सरकारले नदी कटान रोक्न पहल नगरेको बताए । उनले भने, ‘कटान रोक्न तटबन्धनका योजना ल्याउनुपर्छ । तर, कसैले पहल गरेका छैनन ।’
साउन ४ गते परेको अविरल वर्षाले विस्थापित आशाराम चौधरीले घरका सामान छिमेकीको घरमा राखी मामा घर बसेका छन भने अर्का बाधुराम चौधरीका परिवारहरु माइतमा आश्रय लिएर बसेका छन् ।
आशारामले भने, ‘अरुकै घरमा कति दिन बस्ने होला ?’ उनले तीन वटा सरकार भएपनि कसैले समस्या बुझ्न नआएको बताए । उनले भने, ‘हामीलाई राहत होइन सरकारले सुरक्षित बसोबासको व्यवस्था गरिदिनुपर्छ ।’ उनले संघ, प्रदेश र स्थानीय सरकार भएपनि कसैले समस्या नसुनेको गुनासो गरे ।
‘अहिले त मामाको घरमा आश्रय लिएर बसेको छु । कति सामान सडकमै छन् । कति सामानहरु छिमेकीहरुका घरमा राखेको छु’, आशारामले भने, ‘बस्नका लागि दुई कठ्ठा जग्गा थियो । अब झण्डै चार धुरजति बच्यो होला ।’
आशारामको दुई भाइ, श्रीमती, छोरा छोरी र नाती नातिना सो घरमा बस्दै आएका थिए ।
बाँधुरामकी श्रीमती गीता चौधरीले भनिन्, ‘पाँच जनाको परिवार छ । भएको जग्गा कान्द्राले लग्यो । अहिले त माइत बसेको छु । कति दिन त्यतै बस्ने होला ।’ उनले बस्नका लागि अब जग्गाको व्यवस्था गर्नुपर्ने बताइन् ।
भजनी नगरपालिका वडा नम्बर ५ का वडा सदस्य शेरबहादुर बोहराले वडा नम्बर ५ को पुलियापुर वस्ती विगतदेखिनै नदीका कारण विस्थापित घरधुरी रहेको बताए । उनले भने, ‘पुलियापुर बस्ती विगतदेखिनै विस्थापित भइरहेका छन । यस वर्ष थप दुई घर विस्थापित भएका छन ।’ उनले विस्थापित परिवारको व्यवस्थापनका लागि कुनै टुङ्गो नभएको बताए ।
उनले भने, ‘प्रमुख जिल्ला अधिकारीसंग पनि पटक–पटक भेटघाट गरिसकेका छौं । तर, विस्थापित परिवारलाई कता लिएर राख्ने भन्ने टुङ्गो छैन ।’ उनले घर जग्गा कटान भएका व्यक्तिहरुलाई जग्गा उपलब्ध गराउने विषयमा पनि पहल नभएको बताए ।
भजनीका नगर प्रमुख शेरबहादुर चौधरीले यो वर्ष बाढी भन्दा पनि नदी कटानले स्थानीयहरुले समस्या झेल्नु परेको बताए । उनले भने, ‘यो वर्ष बाढी तथा डुवान भएको छैन । नदी कटानले समस्या ल्याएको छ ।’ उनका अनुसार भजनीका झण्डै १३ घरपरिवार कटानका कारण विस्थापित भएका छन ।
सडक बग्यो, बस्ती जोखिममा
कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ लालबोझीस्थित हुलाकी सडक नदीले बगाएको छ ।
बिहिवार रातीदेखि परेको भारी वर्षाबाट कान्द्रा नदीको बहाव बढेसंगै सो सडक बगाएको स्थानीयले बताएका छन ।
तराई क्षेत्रको आर्थिक समृद्धिका निम्ति ०६६÷६७ मा सुरु गरिएको हुलाकी सडक आयोजनाअन्र्तगतको सो सडक कान्द्रा नदीको बहावले बगाएको हो ।
स्थानीय लक्ष्मी चौधरीले भनिन, ‘सरकारले बनाएको सडक बग्यो । अब हाम्रा घरखेत पनि बग्छन ।’ लालबोझीको झण्डै एक सय मिटर भन्दा बढी सडक बगाउँदा स्थानीयहरुले खेतमा बनाइएको आलीबाट हिड्डुल गरिरहेका छन ।
स्थानीय गिता चौधरीले हुलाकी सडक बगाएपछि वैकल्पिक बाटो प्रयोग गरिरहेका बताए । बगाएको सडक देखाउँदै उनले भने, ‘यो सडकबाट हिड्दा छोटो हुन्थ्यो । अहिले घुमेर लामो बाटो प्रयोग गरेर जानुपर्ने बाध्यता छ ।’
उनले नदीले हरेक वर्ष सडक कटान गर्दा पनि नियन्त्रणका लागि कसैले प्रयास नगरेको बताए । उनले भने, ‘हरेक वर्ष नदीले धार परिवर्तन गरिरहेको थियो । हुलाकी सडक शुरुमा केही कटान भइरहदा समेत तटबन्धन लगायतका कुनै प्रयास गरिएन् ।’ उनले समयमा सम्बन्धित निकायबाट तटबन्धनको गरिएको भए नदीले सडकमा क्षति नपुर्याउने बताए ।
भारत सरकारको सहयोगमा धनगढीको क्याम्पस चौकदेखि टीकापुरको खक्रौलासम्म ६२ किलोमिटर सडक निर्माण गरिएको थियो । ६२ किलोमिटरमध्ये दुई किलोमिटर बसन्ता क्षेत्रभित्र परेपछि सो को काम अघि बढ्न सकेको थिएन । अहिले नेपाल सरकारले सो सडक स्तरोन्नति गर्ने भनेपछि अहिले तीन चरणमा अघि बढाइएको छ ।
नदीले सडक कटान गरेपछि सो वडाका बस्तीहरु पनि जोखिममा रहेको छ । स्थानीय दरवारी डङ्गौराले भने, ‘सडक पुरै बगाएको छ । अब नदी जुन बेला पनि बस्तीमा पस्न सक्छ ।’
हुलाकी सडक आयोजनाका सूचना अधिकारी पदम मडैले नदी कटानले हुलाकी सडकमा क्षति पुर्याएको बताए । उनले नदीले सडक बगाएपछि पुल निर्माण गर्ने वा सडक बनाउनेमा छलफल भइरहेको बताए । उनले भने, ‘पुल निर्माण गरे बस्ती जोखिममा पर्छ । त्यसैले नदीलाई पुरानै अवस्थामा लगेर तटबन्धन सहितको सडक निर्माण गरिने छ ।’ उनले सोका लागि नयाँ टेण्डर आह्वान गरिने बताए ।
कल्भर्ट बगायो
धनगढी उपमहानगरपालिका १४ स्थित बिगाउँमा रहेको हुलाकी सडक र रिंगरोडलाई जोड्ने सडकमा रहेको कल्भर्ट बाढीले भत्काएको छ । कल्भर्ट भत्किएपछि फूलबारीका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।
विगत तीन वर्षदेखि जिर्ण अवस्थामा रहेको कलभर्ट जनप्रतिनिधिको पुननिर्माणमा वेवास्ता गर्दा अहिले भत्किएको स्थानीयले आरोप लगाएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया