काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद सम्हालेको १ महिना नाघेको छ । देउवा गत असार २९ मा पाँचौँ पटक प्रधानमन्त्री बनेका थिए ।
एक महिना नाघिसक्दा उनले न मन्त्रिपरिषद विस्तार गरेका छन् न त औपचारिक रुपमा आफ्नो सचिवालय नै बनाएका छन् । उनले अहिले पनि गुटबाटै सरकार सञ्चालन गरिरहेका छन् ।
सत्ताको पहुँचमा रहेर आफ्नो स्वार्थसिद्ध गर्नेहरूको भीडमा देउवा पनि परेका त हैनन भन्ने कुरा पछिल्लो समय उठ्न थालेको छ । एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि यस्तै आरोप लाग्ने गरेको थियो । देउवाका वरिपरि घुम्ने पार्टीभित्र र बाहिरका गुटले उनलाई विवादमा नल्याउलान् भन्न सकिन्न ।
यस्ता छन् देउवालाई घेर्ने गुट
कांग्रेसभित्र देउवा स्वयम् एउटा गुट त भइहाले । देउवाकै गुटमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, सहमहामन्त्रीद्वय पूर्णबहादुर खड्का र डा. प्रकाश शरण महतको उपगुट पनि छ । त्यसैगरी सुदूरपश्चिमको गुट त हुने नै भयो । देउवालाई गुटको क्लबको नेता भन्नुपर्ने अवस्था आएको कतिपय कांग्रेस नेताहरू बताउँछन् । देउवा गुट र उपगुटबाट घेरिएका छन् । त्यसमा पनि देउवा सत्तामा गएपछि धेरै खालका स्वार्थ समूह र उपगुटहरू मौलाउने भइहाले ।
उपसभापतिद्वय गच्छेदार र निधिको आ–आफ्नै समूह छ । तराई मधेशबाट प्रतिनिधित्व गर्ने दुवै नेता क्षेत्रदेखि केन्द्रसम्म प्रतिस्पर्धी हुन् । उनीहरू देउवाबाट आफूअनुकूलका कामहरू लिएर आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने होडमा छन् । देउवाले पार्टीमा दुवै जनासँग बेला–बेलामा छलफल गर्छन् ।
त्यसैगरी सहमहामन्त्री पूर्णबहादुर खड्का पनि देउवाका निकट मानिन्छन् । अहिले उनी सरकार सञ्चालनका लागि बनाइएको गठबन्धनको संयन्त्रको संयोजक छन् । उनको समूहमा पनि केही नेताहरू छन् । उनले देउवालाई विभिन्न सल्लाह दिँदै आएका छन् ।
यस्तै अर्का सहमहामन्त्री डा.प्रकाश शरण महतको पनि समूह छ । महतको समूहमा पनि केही नेताहरू छन् । महतबाट पनि देउवाले सल्लाह लिने गरेका कांग्रेसका एक नेताले बताए ।
त्यस्तै कांग्रेसमा अर्काे समूह छ सुदूरपश्चिमका नेताहरूको समूह यो समूह अन्य समूहभन्दा शक्तिशाली छ । देउवा मुलुकको प्रधानमन्त्री त हुन् नै, उनी सुदूरपश्चिमको डडेल्धुराबाट संसद्मा प्रतिनिधित्व गर्छन् त्यसकारण सुदूरपश्चिमका नेताहरू देउवाका निकट हुने नै भए । तर सुदूरपश्चिमको गुटमा पनि सिंगो गुट छैन । नेतापिच्छेका गुट रहेका छन् ।
सुदूरपश्चिमको गुटमा खासगरी रमेश लेखक र एनपी साउद छन् । दुवैको अलग–अलग समूह छ । खासगरी लेखकलाई देउवाले विस्वासिलो पात्रका रूपमा लिन्छन् । पार्टीमा जिम्मेवारी दिनुपर्दा देउवाले लेखकलाई अघि सार्ने गरेका छन् । उनी कानुनका जानकार पनि भएकाले देउवाले लेखकसँग कानुनी कुरामा पनि सल्लाह लिने गर्छन् ।
त्यसैगरी साउदको गुट छुट्टै छ । उनले आफ्नो गुटलाई मजबुत पार्न खोजे पनि उनको समूहमा धेरै नेताहरू नभएको एक कांग्रेस नेताले बताए । देउवाले बेला–बेलामा साउदसँग पनि राजनीतिक विषयमा सल्लाह लिने गरेका छन् ।
देउवाका गुटमा रहेकाहरूबीच बेला–बेलामा टक्कर पर्नेगरेको कांग्रेस नेताहरू बताउँछन् । धेरै काम भने देउवाका भतिजा भानु देउवाबाट हुनेगरेको छ । उनी देउवाका स्वकीय सचिव हुन् तर औपचारिक रूपमा भने नियुक्ति पाइसकेका छैनन् । भानु विगतमा पनि देउवाका स्वकीय सचिव थिए । भानुले आफ्नै स्वार्थअनुकूल काम गर्ने गरेको कांग्रेस नेताहरूको गुनासो छ ।
यीबाहेक देउवाका अरु गुट पनि छन् । तर ती गुट शक्ति र पहुँच देखाउने खालमा छन् । यी गुट भने औपचारिक रूपमा खुलेका गुट होइनन् । यिनीहरूको रुची कर्मचारी र प्रहरीको सरुवा बढुवा आदिमा बढि देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया