काठमाडौं। सन् २०२०/२१ सिजनको युईएफए वर्ष खेलाडी अर्थात् ‘प्लेयर अफ दि इयर’को शीर्ष तीन मनोनयन सार्वजनिक भएको छ।
युईएफएले बिहीवार सार्वजनिक गरेको शीर्ष तीन मनोनयनमा चेल्सीका मिडफिल्डरद्वय जोर्जिन्हो र एङ्गोलो कान्टे तथा म्यानचेष्टर सिटीका मिडफिल्डर केभिन डे ब्राइन पर्न सफल भएका छन्। म्यान्चेस्टर सिटीलाई इंग्लिश प्रिमियर लिगको उपाधि जिताउन तथा युईएफए च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याउन डे ब्राइनले ठूलो भूमिका खेलेका थिए।
त्यस्तै एकै वर्ष च्याम्पियन्स लिग तथा युरो कपको उपाधि उचाल्ने मात्र १०औं खेलाडी बनेका जोर्जिन्होका लागि सन् २०२०/२१ सिजन निकै महत्वपूर्ण र सफल सावित भएको छ। उनले चेल्सीसँग भर्खरै युईएफए सुपर कपको उपाधि समेत जितेका छन्।
त्यस्तै मनोनयनमा पर्न सफल यस सूचीका तेस्रो मिडफिल्डर कान्टेले चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि जिताउन ठूलो भूमिका खेलेका थिए। सेमी फाइनल खेलमा स्पेनिश क्लब रियल मड्रिड तथा फाइनल खेलमा म्यानचेस्टर सिटीविरुद्ध मेरुदण्डको भुमिका निर्वाह गरेका कान्टे सहित यस सिजनको वर्ष खेलाडीको मनोनयन पूरा भएको छ।
शीर्ष खेलाडीको ‘टप १०’ सूचीमा अर्जेन्टिनी कप्तान तथा बार्सिलोनाका पूर्व कप्तान लियोनल मेस्सी चौथो, बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की पाँचौं र युरो कप २०२० का सर्वोत्कृष्ट खेलाडी चुनिएका जियानलुइगी डोनारुम्मा छैठौं स्थानमा रहेका छन्।
त्यस्तै सातौं स्थानमा पीएसजीका युवा स्टार किलियन एमबाप्पे, आठौं स्थानमा म्यानचेस्टर सिटीका रहिम स्टरलिङ, नवौं स्थानमा युभेन्टस तथा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र बोरुसिया डर्टमन्डका स्ट्राइकर अरलिङ हाल्याण्ड दशौं स्थानमा रहन सफल भएका छन्।
युईएफएले सार्वजनिक गरेको अन्य विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकको सूची यस्तो रहेको छ।
युईएफए महिला वर्ष खेलाडी
जेनिफर हरमोसो (बार्सिलोना)
लिएकी मार्टिन्स (बार्सिलोना)
एलेक्सिया पुटेलास (बार्सिलोना)
पुरुषतर्फ उत्कृष्ट प्रशिक्षक
पेप ग्वार्डियोला (म्यान्चेस्टर सिटी)
थोमस टुचेल (चेल्सी)
रोबर्टो म्यान्सिनी (इटाली राष्ट्रिय टोली)
महिलातर्फ उत्कृष्ट प्रशिक्षक
लुइस कोर्टेस (बार्सिलोना)
पिटर जरहार्डसन (स्वीडेन राष्ट्रिय महिला टोली)
एम्मा हाएस (चेल्सी)
युईएफएले विजेताको घोषणा अगस्ट २६ मा गर्नेछ। टर्कीको इस्तानबुलमा आयोजना गरिने कार्यक्रममा युईएफएले यस वर्षको च्याम्पियन्स लिग तथा युरोपा लिगको समूह विभाजन पनि गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया