काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक सी-डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।
एन्फाले आज (शुक्रवार) सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रम आयोजना गरी खेल तालिका सार्वजनिक गरेको हो । यही भदौ १० गतेदेखि काठमाडौँ उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्ने छन् । त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ ।
सी-डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जनाएको छ । उक्त लिग आगामी कात्तिक ८ गतेसम्म चल्ने छ । एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा तीन वटा क्लबलाई समावेश गरिएको छ । प्रत्येक क्लबले समूह चरणमा दुई खेल खेल्ने छन् ।
समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण र नक-आउट चरणलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता क्लब सी-डिभिजन लिगमा छनोट हुनेछन् । एन्फा लिग संयोजक विज्ञानराज शर्माले छनोटमा क्लबको सहभागिता उल्लेख्य रहेको बताएका छन् । उहाँले अर्को वर्षदेखि पायक पर्ने प्रदेशमा नै छनोट खेल खेलाउने जानकारी दिए । छनोट प्रतियोगितामा बागमती प्रदेशका ६१, प्रदेश १ का सात र अन्य पाँच प्रदेशका दुई/दुई क्लब रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया