थारु समुदायले बड्का अटवारी पर्व मनाउँदै

लोकपथ
84
Shares

सुदूरपश्चिम । थारु समुदायले रैब अर्थात बड्का अटवारी पर्व मनाउँदैछन् ।

हरेक वर्ष भदौ महीनाको पहिलो आइतवारदेखि यो पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महीनाभरी पर्ने आइतवारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ । यस दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफुल आदि खाने गरिन्छ । थारु भाषामा आइतवारलाई रैब भनिन्छ ।

आइतवारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद भुलाइ चौधरी बताउँछन् । यस पर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कुलदेवता रिसाउने मान्यता रहिआएको छ । यो पर्वमा थारुहरुले बिहानै नजिकैको तलाऊ, पोखरी वा खोलामा स्नानगरी प्रकृति र कुलदेवतालाई परिकारहरु विधिवत चढाउँदै प्रसादको रुपमा खाने गर्दछन् । तर यो वर्ष भने कोरोना महामारीका कारण आफ्नै घरमा बसेर पर्व मनाइँदै छ ।

यसैगरी धार्मिक मान्यता अनुसार बालबच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा वृद्धिको लागि समयमा वर्षा होस्, बालीनालीमा रोगव्याधी नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाइने चलन रहँदै आएको छ । यस्तै पश्चिमका थारुहरुले यो पर्वलाई “बड्का अटवारी” भनेर मनाउने गर्छन् । भदौ महीनाका हरेक आइतवार अगल अलग गाउँहरुले आफ्नो अनुकुल पर्ने आइतवार रैब वा अटवारी मनाउने गर्छन् ।

अटवारी पर्व कसरी मनाउन शुरु भयो भन्नेमा विभिन्न किम्बदन्ती रहेका छन् । तर, कुनै पनि किम्बदन्तीमा पाण्डवका माहिला भाइ भीम वा भीवाको प्रमुख रूपमा उल्लेख हुने गरेको छ । माहिला पाण्डव ‘भीवाँ’ अथात् भीम आइतवारका दिन एक दानवको आहार बन्न गएको र उनले त्यो दानवलाई मारेर गाउलेलाई दानवको आतंकबाट मुक्त गराएका थिए । त्यसैगरी वनबासमा रहेका बेला भीमले नै कैयौं विपत्तिबाट आफना भाइहरूलाई बचाएका थिए । उनले हात्तीलाई मारेको तथा दुस्मनले पाण्डवलाई लाखको घरमा जलाएर मार्ने षड्यन्त्र गर्दा भीमले नै मणिकको खम्बा उखेलेर सबैलाई बचाएका थिए भन्ने किम्बदन्ती रहेको छ ।

त्यस्तै, उर्वशी, मेनकासहितका अप्सरा पाउन स्वर्गका राजा ईन्द्र र थारू राजा दंगीशरणबीच युद्ध भएको बेला राजा दंगीशरणले पाँच पाण्डवसँग सहयोग मागेकोमा भीमले नै सहयोग गरेका थिए । सोहीबेला भीवाँले रोटी पकाउँदै गरेका बेला तत्काल लडाईमा जानु परेकाले रोटी एकातिर मात्र पाकेको थियो । यसकै स्मरण स्वरूप अटवारीमा पनि पहिलो रोटी नपल्टाईकन एकातिरबाट मात्र पकाएर भीवाँका लागि छुट्याउने चलन रहेको छ ।

थारू समुदायको महाकाव्य बर्किमार (महाभारत) मा भीमसेनलाई नै मुख्य पात्रको रूपमा उल्लेख गरिएको छ । अटवारीको अघिल्लो दिन भिन्सर्या (अघिल्लो मध्यराति) मा दर खाने गरिन्छ भने आइतवार दिउँसो रोटी पकाउने गरिन्छ । रोटी पकाउन शुद्ध आगो (गन्यारी भन्ने काठ एकापसमा रगडेर आगो निकालिन्छ) को प्रयोग गरिन्छ । यो आगो नफुकेरै सकेसम्म माघी पर्वसम्म जोगाएर राख्ने चलन छ । आइतबार दिनभरि व्रत बसेपछि साँझ अटवारी परिकार खानुअघि आफना दिदीबहिनीहरूका लागि केही भाग निकाल्ने र आगोको पूजा गरिन्छ । अटवारी परिकारमा रोटी, केरा, अम्बा, काक्रो, फलफूल र दही राखिने गरिन्छ ।

अटवारीको भोलिपल्ट बिहान नुहाएर खाना पकाउन शुरु गरिन्छ । खानाको परिकारमा पोंईको साग, सिल्टुंगको गेडा, केराऊ, तोरैं, कर्कलाको साग, रायोको साग सहित तीन, पाँच वा सात किसिमका तरकारी पकाइन्छ । खाना तयार भएपछि दाइभाइले दिदीबहिनीका लागि आफनो खानाबाट अग्रासन वा केही भाग छुट्याउँछन् । सोही दिन अथवा सोमबार आफना विवाहित दिदीबहिनीको घरमा अग्रासन दिन जाने परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?