अब सुदूरपश्चिम प्रदेशमै राजपत्र छापिने

लोकपथ
112
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारले राजपत्र छाप्न सुरु गरेको छ ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नै मुद्रण मेसिन जडान गरी आज (मंगलबार) बाट छपाइको काम सुरु गरेको हो ।

सुदूरपश्चिमकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले मेसिनको पुजापाठ गरी समुद्घाटन गरेकी हुन् । सो अवसरमा बोल्दै मन्त्री जोशीले यसअघि राजपत्र छपाउनका लागि संघिय मुद्रण विभागमा पठाउनुपर्ने बाध्यता रहेको बताइन् । उनले भनिन –‘प्रदेशको ऐन, कानुन, कार्यविधि, मापदण्ड तथा सरकारका निर्णयहरु कार्यान्वयन गर्न राजपत्रमा छाप्नुपर्छ ।’

मन्त्री जोशीले यसअघि काठमाडौंको मुद्रणले राजपत्र छपाईमा ढिलाइ गर्दा प्रदेश सरकारका निर्णय कार्यान्वयन गर्नमा समस्या हुने गरेको बताइन् । उनले भनिन् –‘मुद्रण विभागले यस प्रदेशबाट पठाएका ऐन, कार्यविधि, निर्णयहरु छपाइ गर्न तीन महिनाभन्दा बढी समय लगाउने गरेको थियो ।’

उनका अनुसार प्रदेश सरकारका दर्जनौ कागजपत्र मुद्रण विभागमा महिनौदेखि छपाईका क्रममा रहेको बताइन् । उनले भनिन् –‘अब प्रदेशमै मेसिन आइसकेको छ । प्रदेश सरकार र स्थानीय तहका आवश्यक निर्णयहरु यतै छापिनेछ ।’

उनले प्रदेश सरकारले मुद्रण मेसिन जडान गरेसंगै प्रदेश सरकारलाई सहज हुने बताइन् । उनले भनिन् –‘मेसिन ल्याएपछि समयमै प्रदेश सरकारका निर्णयहरु राजपत्रमा छापिने र कार्यान्वयन पनि छिटो छरितो हुनेछ ।’

मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा प्रदेशमै मुद्रण मेसिन खरिद तथा जडान गर्ने कार्यक्रम उल्लेख रहेको बताए । उनले भने –‘आर्थिक वर्षको अन्त्यमै मेसिन प्रदेश सरकारले खरिद गरेपनि जडान गर्न ढिला भएकाले सञ्चालन गर्न सकिएको थिएन ।’ उनले सो मेसिन २७ लाख ८० हजारमा खरिद गरी भित्र्याइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?