काठमाडौं। स्पेनिश ला-लिगाअन्तर्गत आइतबार राति खेलिएको खेलमा साबिक विजेता एथ्लेटिको मड्रिडले युरोपा लिग विजेता भिल्लारियलसँग २-२ गोलको रोमाञ्चक बराबरी खेल खेलेको छ।
एथ्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटियानोमा भएको खेलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफको ५२औं मिनेटमा भने पाहुना टोलीले खेलमा अग्रता लिन सफल भएको थियो।
येरेमी पिनोको पासमा म्यानुवेल ट्रिगुवेरोसले गोल गर्दै भिल्लारियललाई खेलमा अग्रता दिलाएका थिए। तर त्यसको पाँच मिनेट पनि नबित्दै एथ्लेटिकोले बराबरी गोल गरेको थियो।
घरेलु टोलीका भेट्रान स्ट्राइकर लुविस सुवारेजले खेलको ५६औं मिनेटमा एथ्लेटिकोका लागि बराबरी गोल गरेका थिए। निकै नै प्रतिस्पर्धात्मक खेलको ७४औं मिनेटमा पाहुना टोलीले खेलमा पुनः अग्रता लिन सफल भयो।
यस पटक भने भिल्लारियलका नयाँ खेलाडी अर्नट डान्जुमाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाउन सफल भएका थिए। निर्धारित ९० मिनेटको खेल अन्त्य हुँदासम्म खेलमा पछि परेको एथ्लेटिको मड्रिडले इन्जुरी समयमा हार टार्यो।
खेलको ९५औं मिनेटमा भिल्लारियलका रक्षक आइसा मान्डीको आत्मघाती गोलमा घरेलु टोलीले बराबरी गोल गर्न सफल भएको थियो। यस रोमाञ्चक बराबरीसँगै एथ्लेटिको मड्रिडले तीन खेलमा सात अंक जोडेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया