न्युयोर्क, २८ चैत । सिरियाको विद्रोही नियन्त्रित डुमा नगरमा भएको भनिएको रासायनिक हमलाबारे छानबिन गर्नुपर्ने अमेरिकी मागलाई रुसले सुरक्षा परिषद्मा भिटो (विशेषाधिकार) प्रयोग गरेर असफल पारेको छ ।यो सँगै अमेरिकाले सिरियामा सैन्य कारबाही गर्ने सम्भावना बढेको बताइएको छ । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले आफ्नो मुलुकको प्रस्तावलाई न्यूनतम प्रतिक्रियाको रूपमा व्यख्या गरेकी छन् ।डुमामा सिरियाली फौजले गरेको भनिएको आक्रमणको जवाफ दिनुपर्नेमा अमेरिका, ब्रिटेन र फ्रान्स सहमत छन् । तर राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नेब्युन्जियाले कुनै योजना बनाइरहेको भए त्यसलाई त्याग्न वासिंगटनलाई आग्रह गरे ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा गरिएको शंकास्पद रायासनिक हमलाप्रति आफ्नो मुलुकले जनाउने प्रतिक्रियामा केन्द्रित हुन भन्दै ल्याटिन अमेरिकाको आफ्नो पहिलो भ्रमण रद्द गरेका छन् ।यसैबीच विश्वव्यापी रासायनिक अस्त्रको निगरानी गर्ने निकायले डुमामा सत्यतथ्य पत्ता लगाउन एउटा टोली पठाएको जनाएको छ । शनिबार गरेको भनिएको रासायनिक हमलामा ७० जनाको मृत्यु भएको भनिएपनि त्यसको पुष्टि भइसकेको छैन ।अर्गनाइजेशन फर द प्रोहिबिशन अफ केमिकल वेपन्स (ओपीसीडब्ल्यू) ले आफ्नो टोली ‘छिट्टै’ सिरियामा परिचालित हुने बताएको छ ।सिरिया र उसको सैन्य साझेदार रुसले जाँचकर्ताहरूको भ्रमणमा सघाउने जनाएपछि ओपीसीडब्ल्यूले आफ्नो टोली खटाउने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया