साउदीले कतारलाई थप एक्ल्याउँदै, अब के हुन्छ खाडीमा ?

रियाद, २८ चैत । साउदी अरेबिया र कतारको सिमानामा प्रस्तावित नहर परियोजनासँगै दुई देशबीचको विवादले नयाँ मोड लिएको छ ।सन् २०१७ को जूनमा साउदीको नेतृत्वमा बहराईन, युएई, इजिप्टलगायतका देशले कतारलाई एक्ल्याउन सुरु गरेका थिए ।साउदी अरेबियाले कतारमाथि अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गरेको, आतंकवादी संगठनहरूलाई सहयोग गरेको र इरानसँग निकटता बढाएको आरोप लागाउँदै कतारलाई एक्ल्याउन सुरु गरेको थियो ।साउदी नेतृत्वको बहिष्कारका बावजुद कतारले इरान र टर्कीसँग कारोबारका लागि नयाँ सम्बन्ध विस्तार गर्दै नाकाबन्दीलाई प्रभावहीन बनाएको थियो ।तर अब साउदी अरब र कतारको सिमानामा प्रस्तावित सलवा नहर परियोजना भौगोलिक रुपमा कतारलाई एक्ल्याउने उद्देश्यसहित आएको बताइएको छ ।साउदी अरबको सबक पत्रिकाले ७५ करोड डलर लगानीको सो परियोजना एक वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको जनाएको छ । ६० किलोमिटर लम्बाइ, २०० मिटर चौडाइ र १५ देखि २० मिटर गहिराइ हुने प्रस्तावित नहरले कतारलाई उसका दक्षिणी छिमेकी मुलुकहरूसँग छुट्ट्याइदिनेछ ।साउदीको सलवा र खव्र अल–उदायत क्षेत्रबीच बनाइने नहरका कारण कतारले स्थलमार्गबाट अरू मुलुकसँग गर्ने व्यापार पूर्ण रूपमा बन्द हुनेछ । कतारले यसलाई अरबको ‘खाडी संकट’ बढाउने कदमका रुपमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?