काठमाडौं। जारी टोकियो पारालिम्पिक २०२० अन्तर्गत महिला पारा तेक्वान्दो विधातर्फ ५८ केजी तौलमुनीको रिपिचेज फाइनल खेलमा नेपालकी पलेशा गोवर्धन पराजित भएकी छिन्।
के-४४ स्पर्धाअन्तर्गत रिपिचेजतर्फको फाइनल खेलमा पराजय भोग्दा पलेशा ऐतिहासिक पदकबाट पनि वञ्चित भएकी छिन्। पलेशाले यदि फाइनल खेलमा जित दर्ता गरेको खण्डमा उनी नेपालको लागि पारालिम्पिक प्रतियोगितामा कुनै पनि पदक जित्ने पहिलो खेलाडी हुने थिइन्।
तर फाइनल खेलमा पलेशा चीनकी युजी लीसँग १२-१ ले पराजित हुन पुगिन्। उनले रिपिचेजतर्फ सेमी फाइनल खेलमा सर्बियाकी मारिया मिसेभलाई २३-१५ ले पराजित गरेकी थिइन्।
त्यस्तै रिपिचेज चरणको पहिलो खेलमा पलेशाले संयुक्त राज्य अमेरिकाकी ब्रायना सालिनारालाई १०-० को सोझो सेटमा पराजित गरेकी थिइन्। त्यस्तै शुक्रवार नै सम्पन्न साविक प्रतियोगितामा भने उनी ग्रेट ब्रिटेनकी बेथ मुनरोसँग २१-८ ले पराजित भएकी थिइन्।
पलेशाको पारालिम्पिक यात्रा अन्त्य भएसँगै नेपालको टोकियो पारालिम्पिक २०२० को यात्रा पनि अन्त्य भएको छ। प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने पलेशा एकमात्र खेलाडी थिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया