अस्थायी शिक्षकको परीक्षा तत्काल तोक्न माग

काठमाडौँ, २९ चैत – नेपाल शिक्षक महासंघले शिक्षा ऐन (नवौँ संशोधन)बमोजिम अस्थायी शिक्षकको परीक्षा तत्काल तोक्नुपर्नेमा जोड दिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौँ जिल्ला र महानगर समितिले आज आयोजना गरेको सम्मान कार्यक्रममा महासंघका अध्यक्ष बाबुराम थापाले लामो समयदेखिको अस्थायी शिक्षकको समस्या समाधानका लागि विगतमा सरकार र आफूहरूबीच भएको सहमतिको पालना नभएसम्म खबरदारी जारी रहने बताउनुभयो । यही चैत २३ गतेका लागि तोकिएको शिक्षक सेवा आयोगको आन्तरिक परीक्षा शिक्षक र विद्यार्थीको अलग अलग अनशनका कारण शिक्षा मन्त्रालयको आग्रहमा स्थगन भएको थियो । अस्थायी शिक्षकको ७५ प्रतिशतसम्म स्थायी हुने सो परीक्षाले विद्यालयको शिक्षाको गुणस्तर ध्वस्त हुने टिप्पणी उठेपछि मन्त्रालयको नेतृत्व नवौंँ संशोधनलाई तत्काल कार्यान्वयन नगर्ने तयारीमा छ । कार्यक्रममा महासंघमा संगठनका तर्फबाट नवनिर्वाचितमध्ये अध्यक्ष थापा र उपमहासचिव कमला तुलाधरलाई संगठनका पूर्वअध्यक्ष डा बाबुराम अधिकारी, महानगर समितिका अध्यक्ष डिल्ली शर्मालगायतले सम्मान गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?