काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)ले यसै वर्षदेखि महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिग सञ्चालन गर्ने भएको छ।
नेपालको राष्ट्रिय खेल भलिबलको राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा विकास र विस्तारको लागि नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) र नेपाल भलिबल संघबीच सम्झौता भएको छ। मंगलवार आयोजित पत्रकार सम्मेलनमा एनएसईएम र संघबीच ज्ञापन पत्रमा हस्ताक्षर भएको छ।
कुनै पनि खेलको विकासको लागि राज्य पक्षबाट मात्र नभई प्राइभेट कम्पनीको साझेदारी समेत चाहिने कारणले संघ र एनएसईएमबीच ‘एमओयू’मा हस्ताक्षर भएको हो। त्यस्तै लिग मार्फत नेपाल भलिबल संघले अन्तराष्ट्रिय स्तरमा पनि केही हदसम्म विस्तार गर्दै लैजाने आशा गरेको छ। प्रतियोगिता सञ्चालनका लागि संघले प्राविधिकसहित कभर्डहल र खेलाडी व्यवस्थापनको जिम्मेवारी लिएको छ भने आर्थिक व्यवस्थापन एनएसईएमले गर्नेछ।
त्यस्तै एनएसईएमले संघलाई हरेक वर्ष एनभीए क्लब च्याम्पियनसिप सञ्चालनको लागि सहयोग समेत गर्नेछ। त्यसैगरी एनएसईएमले एनएसएल भलिबल प्रतियोगिताबाट हुने नाफाको ३०% रकम पनि संघलाई हस्तान्तरण गर्ने जानकारी दिएको छ।
उक्त प्रतियोगिताको प्रथम संस्करण आगामी नभेम्बर १७ देखि डिसेम्बर १७ सम्म आयोजना गर्ने प्रारम्भिक मिति घोषणा समेत गरिएको छ। पत्रकार सम्मेलनमा उपस्थित एनएसएलकी अध्यक्ष आश्रयता कार्की चौधरीले राष्ट्रिय खेल भलिबलको विकासका लागि यो कदम चालेको बताएकी छिन्। “हाम्रो उद्देश्य राष्ट्रको विकास रहेको छ, गत वैशाखमा आयोजित एनएसएल फुटबलको सफलतापूर्वक आयोजना पछि अब महिला तथा पुरुष भलिबल लिगको पनि सञ्चालन गर्ने भएका छौँ”, उनले भनिन्।
आगामी एनएसएल भलिबलको पहिलो फ्रेन्चाइज प्रतियोगितामा ७ महिला तथा ७ पुरुष टोली सम्मिलित हुने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया