एमाले फुट्नुको आक्रोश संसदमा

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिनु र पार्टी फुट्नुको आक्रोश संसदमा पोखेको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेका थिए ।

पहिलो बैठकमा नाराबाजी गरेर अवरोध गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरे । त्यसपछि बसेको दोस्रो र तेस्रो बैठक पनि अवरुद्ध भयो र संसद बैठक अघि बढ्न सकेन् । बैठक भदौ २५ मा बस्ने गरी स्थगित भएको छ ।

खास गरी एमालेले माधव कुमार नेपालसहितका १४ जना सांसदलाई प्रतिनिधि सभाको सांसद पदबाट नहटाएको भन्दै सभामुख सापकोटासँग आक्रोश पोखे । सभामुखविरुद्ध नाराबाजी गरे । माधवकुमार नेपालले नेकपा एककिृत समाजवादी गठन गरेर एमालेबाट अलग्गि सकेको अवस्थामा संसद अवरोधको कुनै औचित्य नभएको कानूनका जानकारहरु बताउँछन् ।

एमालेले सभामुख सापकोटालाई एमाले विभाजन गर्न सहयोग गरेको समेत आरोप लगायो । देश कोरोना महामारी, बाढी पहिरो र डुबानका समस्याबाट गुज्रिरहेको अवस्थामा ती जनचासोका मुद्दा छोडेर संसद अवरोध गर्नु गलत भएको एमाले नेताहरुकै भनाइ छ । किनकि संसद जनताका समस्या उठाउने थलो हो । आफ्ना माग राख्दा कमसेकम जनताको समस्यामा पनि एमालेले ध्यान दिनु पर्ने हो ।

एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदलाई आ–आफ्नो सिटमा बस्न आग्रह गरे तर उनीहरुले मानेन् । एमालेले उठाएको विषय सर्वाेच्च अदालतमा विचाराधीन छ । अदालतमा विचाराधीन विषयमा कुरा उठाउन पाइदैन् । तर एमालेले त्यसको ख्यालै गरेन ।

सभामुख सापकोटाले आफूलाई एमाले विभाजन गर्न भूमिका खेलेको आरोप लगाएपछि उनले आक्रोशित हुँदै एमाले सांसदहरुलाई संविधान र कानून भन्दा बाहिर नजान सजग गराइरहे । तर सापकोटाको भनाइलाई वेवास्ता गर्दै एमाले सांसदहरुले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरिरहे । एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण एमाले सरकारबाट बाहिरिनु पर्ने र फुट्नु पर्ने अवस्थामा पुगेको आरोप लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?