काठमाडौं। जारी यूएस ओपन २०२१ को महिला तथा पुरुष दुवै विधातर्फ सेमी फाइनलको समीकरण पूरा भएको छ।
बिहीवार सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विश्व नम्बर १ नोभाक जोकोभिचले इटालियन खेलाडी तथा विश्व नम्बर ६ म्याटियो बेरेटिन्नीलाई ५-७, ६-२, ६-२ र ६-३ को सेटमा पराजित गरेसँगै अन्तिम चारमा स्थान प्राप्त गर्ने सबै खेलाडी पक्का भएका छन्।
अन्य क्वार्टर फाइनल खेलमा पुरुषतर्फ टोकियो ओलम्पिक २०२० का स्वर्ण पदक विजेता तथा विश्व नम्बर ४ एलेक्जेन्डर जेभेरेभले दक्षिण अफ्रिकाका लोइड ह्यारिसलाई ७-६ (८/६), ६-३ र ६-४ को सेटमा पराजित गरेका थिए। त्यस्तै विश्व नम्बर १२ अगर आलियासिमेले युवा खेलाडी कार्लोस अल्कराजलाई पराजित गरेका थिए।
खेलको दौरान कार्लोस घाइते हुँदा आलियासिमेले ६-३ र ३-१ ले खेल जितेका थिए। त्यस्तै अन्तिम चारमा स्थान बनाउने अर्का खेलाडी रहेका छन् विश्व नम्बर २ ड्यानियल मेडभेडेभ। मेडभेडेभले नेदरल्यान्ड्सका भ्यान डे जान्डस्कल्पलाई ३-६, ६-०, ६-४ र ७-५ को सेटमा पराजित गरेका थिए।
सेमी फाइनल समीकरण (पुरुष)
नोभाक जोकोभिच (१) भर्सेज एलेक्जेन्डर जेभेरेभ (४)
ड्यानियल मेडभेडेभ (२) भर्सेज अगर आलियासिमे (१२)
त्यस्तै महिलातर्फको अन्तिम चार खेलाडीको पनि टुङ्गो लागेको छ। महिलातर्फ टोकियो ओलम्पिक २०२० की स्वर्ण पदक विजेता बेलिन्डा बेन्चिचले बेलायतकी युवा खेलाडी एम्मा राडुकानुसँग ६-३ र ६-४ को सोझो सेटमा पराजय भोगेकी थिइन्। त्यस्तै विश्व नम्बर २ अरिना साबालेन्काले विश्व नम्बर ८ बारबोरा क्रेजसिकोभालाई ६-१ र ६-४ को सोझो सेटमा पराजित गरेकी थिइन्।
अन्य क्वार्टर फाइनल खेलमा क्यानडाकी लेला फर्नान्डेजले विश्व नम्बर ५ एलिना स्भितोलिनालाई ६-३, ३-६ र ७-६ (७/५) को रोमाञ्चक सेटमा पराजित गरेको थिइन् भने आज बिहान विश्व नम्बर १७ मारिया सकारीले विश्व नम्बर ४ कारोलिना प्लिसकोभालाई ६-४ र ६-४ को सोझो सेटमा पराजित गरेकी छिन्।
सेमी फाइनल समीकरण (महिला)
लेला फर्नान्डेज भर्सेज अरिना साबालेन्का (२)
एम्मा राडुकानु भर्सेज मारिया सकारी (१७)
यूएस ओपनमा सेमी फाइनल चरणका खेलमा भोलि (शुक्रवार)देखि सुरु हुनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया