काठमाडौं। जर्मन बुन्डेस लिगा अन्तर्गत शनिवार खेलिएको खेलमा बोरुसिया डर्टमन्डले बायर लिभरक्युजेनलाई ४-३ गोलले पराजित गरेको छ।
लिभरक्युजेनको घरेलु मैदान बे एरेनामा भएको खेलमा घरेलु टोलीले सुरुवाती १० मिनेट भित्रै अग्रता लिएको थियो। लिभरक्युजेनका लागि फ्लोरियन विर्जले गोल गरेका थिए।
पहिलो हाफको ३७औं मिनेटमा डर्टमन्ड खेलमा फर्कियो। पाहुना टोलीका लागि स्ट्राइकर अर्लिङ हाल्यान्डले गोल गरेका थिए। तर पहिलो हाफको अतिरिक्त समयमा प्याट्रिक शिकको गोलमार्फत लिभरक्युजेनले खेलमा पुनः अग्रता लिएको थियो।
दोस्रो हाफको ४९औं मिनेटमा डर्टमन्डले पुनरागमन गोल गर्यो। फरवार्ड जुलियन ब्रान्टले आफ्नो पुरानो क्लबविरुद्ध गोल गर्दै पाहुना टोलीलाई बराबरीमा लगेका थिए। खेलको ५५औं मिनेटमा लिभरक्युजेनले फेरि अग्रता लिन सफल भयो। यस पटक मुसा डियाबीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
तर खेलको ७१औं मिनेटमा डर्टमन्डले पुनः बराबरी गोल गर्यो। पाहुना टोलीका लागि लेफ्ट ब्याक रफाएल गुरेरोले गोल गरेका थिए। त्यसपछि खेलको ७७औं मिनेटमा डर्टमन्डले पुनरागमन गर्यो।
स्ट्राइकर अर्लिङ हाल्यान्डले पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोलीलाई जित दिलाउन सफल भएका हुन्। यस जितसँगै डर्टमन्ड अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया