भक्तपुर, १ वैशाख । नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न आज विभिन्न जिल्लाबाट हजारौँको भीड लागेको छ ।परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि शुरु भएको थियो । भेलुखेलमा शुक्रबार साँझ उठाइएको लिंगो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।५५ हात लामो इन्द्रध्वजासहितको लिंगो जात्रा हेरे शत्रुनास हुने सहकाल आउने जनविश्वास रहेको छ । चैत मसान्तमा इन्द्रध्वजासहितको लिंगो उठाउने र आज दिनभर भव्य मेला गरी साँझ लिंगो ढाल्ने गरिन्छ । आज यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने शत्रु नाश हुने जनविश्वास रहेको छ ।चरखण्डीमा रातिदेखि नै भीड:आजै भक्तपुरको दधिकोट र सिरुटारको संगमस्थलमा रहेको प्रशिद्ध चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे शरीरका सबै रोग नास भई गरेको काम सफल हुने जनविश्वास रहेको स्थानीयवासी एवं संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताए ।किंवदन्तीअनुसार सिकारीले मारेको भँगेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बूढापाकाको भनाइ छ भने यही विश्वासले आज यहाँको कुण्डमा स्नान गर्ने बिहान ४ बजेदेखि नै भीड लागेको छ ।प्रत्येक वर्ष वैशाख १ गते मनाइने चारखण्डी मेलामा मन्दिर परिसरमा युवाले शरीरमा बत्ति बालेर बसेका छन् । शरीरमा बत्ति बालेर बसेमा पाप नष्ट हुने एवं पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । यस मन्दिरमा बिहान ५ बजेदेखि नै तीनवटा खटसहितको खट जात्रासमेत गरिएको छ । दधिकोटको विभिन्न क्षेत्र परिक्रमा गराई बिहानै ल्याइएको खट पुनः मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ ।त्यसैगरी दधिकोटको चित्रपुरस्थित गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रासमेत गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । यता सिरुटार र ललितपुरको टीकाथली गाविस जोड्ने दोभानस्थित गुप्तेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ ।यता सिरुटार, बालकोटका बासिन्दाले यहाँको गुप्तेश्वर महादेव मन्दिरमा रथ यात्रा गरी जात्रा मनाएका छन् । धिमे बाजाका साथ रथलाई टोल टोलमा घुमाएर पूजा गर्दै जात्रा मनाएको हो ।थिमिमा चान्हेसिया अर्थात् रात्रिको जात्रा मनाइयोचैत मसान्तको दिन साँझबाट शुरु गरी रातभर सञ्चालन हुने चान्हेसिया अर्थात् रात्रिको जात्रा आज बिहान थिमिमा सम्पन्न भएको छ ।मध्यपुरथिमीका बासिन्दाले मनाउने उक्त जात्रामा शुक्रबार साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा शुरु गरिएको थियो ।चान्हेसिया जात्रामा सर्वप्रथम त दिगुटोलस्थित दिगुभैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकुमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकमारी मन्दिरमा विराजमान गराइन्छ ।जात्रामा थिमीको अधिंकाश घरघरबाट चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शंखधर चोक हुँदै क्वाछेंस्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो ।त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याई पु¥याएर पाँच पटक परिक्रमा गराएपछि सोही स्थानमा आआफ्नो आसनमा खटलाई राखेपछि जात्रा सम्पन्न भएको थियो । यो जात्रा शुक्रबार साँझ शुरु भई आज बिहान बरिक ४ बजे सम्पन्न भएको थियो ।थिमीमा विष्णुवीर सिद्धिकाली जात्रात्यस्तै मध्यपुर थिमीका बासिन्दाले प्रसिद्ध विष्णुवीर एवं सिद्धिकाली जात्रा आज थिमीमा सम्पन्न गरेका छन् । विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाँकाल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरमासमेत परिक्रमा गराइएको थियो ।बालकुमारी मन्दिरको डबलीमा राखिएको विष्णुवीरसहितका देवगणलाई स्थानीय बासिन्दाले पूजा गरेपछि विष्णुवीरलाई सुङ्गाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्पराअनुरुप मान्छे मर्दा बजाइने सिं बाजा बजाउँदै लाने प्रचलन रहेको छ ।त्यस्तै सिद्धिकालीका साथै अन्य विभिन्न देवगण थिमीको हात्ती महाँकाल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पु¥याइ स्वङ्गापुखुको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचो सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइएको छ । त्यसैगरी विष्णुवीर, दक्षिण बाराही, बालकुमारीलगायत अन्य देवगणलाई सिन्दूर चढाई आआफ्नो स्थानमा विराजमान गराएपछि आजको जात्रा विसर्जन गरिने स्थानीयवासी रमेश श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया