काठमाडौं, १ वैशाख – निर्देशक तथा नाट्यकर्मी अनुप बरालले निर्देशन गरेको चलचित्र ‘दोख’ को फस्ट लूक सार्वजनिक गरिएको छ । नयाँ वर्षको मौका पारेर पोस्टर सार्वजनिक गरेको हो । चलचित्रको शूटिङ तीन वर्ष पहिले नै सकिए पनि विविध कारणले गर्दा फिल्मको पोस्ट प्रोडक्सन ढिला भएको थियो ।द्वन्द्वकालीन समयमा नेपालका अलग अलग भू–भागमा घटेका विभिन्न घटनाका विविध पाटालाई जोडेर कथा बनाइएको फिल्मलाई राजन कतेथले लेखेका हुन् । भूकम्प, नाकाबन्दी तथा अन्य कारणले गर्दा फिल्म ढिला बन्न पुगेको निर्देशक बरालले बताए ।चलचित्रलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् । फिल्मलाई भोजपुर जिल्लाको सुन्तले र बाघखोर गाविस वरपर खिचिएको हो ।गाउँमा हुने फुटबल खेल र त्यससँग जोडिएर आउने राजनीति र रिभेन्ज गेमको कथा चलचित्रमा छ । दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, सुरज मल्ला, देव न्यौपाने, सजन थापा, कमल देवकोटा, दिवज राई, केशव राई, रोय दिभ लगायतले फिल्ममा अभिनय गरेका छन् ।त्यस्तै फिल्ममा सविन ज्ञवालीको लगानी छ भने निमेष श्रेष्ठले सम्पादन गरेका छन् । साथै नेपथ्य ब्याण्डका अमृत गुरुङले फिल्मको शीर्ष गीतमा स्वर दिएका छन् । फिल्मको रिलिज मिति अझै सार्वजनिक भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया