कोहलीले टी-ट्वान्टीको कप्तानी नगर्ने, भने वर्कलोड धेरै भयो

काठमाडौं। भारतीय कप्तान तथा स्टार ब्याट्सम्यान विराट कोहलीले टी-ट्वान्टीको कप्तानी छाड्ने निर्णय गरेका छन्।

पछिल्ला दिन निकै चर्चामा आएको कोहलीको कप्तानी छाड्ने कुरा बारे उनी आफैंले पुष्टि गरेका छन्। उनले बिहीवार सामाजिक सञ्जालमार्फत टी-ट्वान्टी फर्म्याटको कप्तानी छाड्ने निर्णय गरेको बताएका छन्।

सन् २०१७ मा पूर्व कप्तान महेन्द्र सिंह धोनीले भारतीय टी-ट्वान्टी टोलीको कप्तानीबाट राजीनामा दिए पश्चात् कप्तानको जिम्मेवारी लिएका कोहलीले भारतलाई ४५ अन्तराष्ट्रिय टी-ट्वान्टी खेलमा २७ खेलमा जित दिलाउन सफल भएका छन्। कोहलीको कप्तानीमा भारतले २७ खेलमा पराजय भोगेको छ भने २ खेल ड्र भएका छन्।

सो समयमा उनले ४८.४५ को औसतमा १५०२ रन बनाउन सफल भएका छन्। उनले १४३.१८ को स्ट्राइक रेटमा कुल १२ अर्धशतक प्रहार गरेका छन् भने अविजित ९४ रनको सर्वाधिक पारी समेत खेलेका छन्।

Story Image

यद्यपि ‘वर्कलोड’को कारण देखाएर कोहलीले आगामी आईसीसी टी-ट्वान्टी विश्वकप २०२१ पश्चात् कप्तानीबाट राजीनामा दिने घोषणा गरेका हुन्। उनले आफ्नो ब्याटिङ तथा टेस्ट र एकदिवसीय खेलको कप्तानीमा फोकस बढाउन आफूलाई केही आराम दिएको पनि बताएका छन्।

कोहलीको स्थानमा भारतीय टोलीका उप-कप्तान तथा मुंबई इण्डियन्सका कप्तान रोहित शर्माले कप्तानको जिम्मेवारी पाउने निश्चित देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?