काठमाडौं। युईएफए कन्फरेन्स लिगअन्तर्गत इंग्लिश क्लब टोटनह्याम हटस्परले फ्रेन्च क्लब रेनेसँग २-२ गोलको बराबरी खेलेको छ।
रेनेको घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले खेलको ११औं मिनेटमा अग्रता लिएको थियो। रेनेका लोइक बाडेले आत्मघाती गोल गर्दा स्पर्सले खेलमा अग्रता लिएको हो।
तर खेलको २३औं मिनेटमा रेने खेलमा फर्कियो। रेनेका लागि फ्लाभिएन ताइटले गोल गरेका थिए। पहिलो हाफमा १-१ गोलको बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा पनि निकै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए।
दोस्रो हाफको ७२औं मिनेटमा रेनेका गाइतान लाबोर्डेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसको ५ मिनेट पनि नबित्दै टोटनह्यामले बराबरी गोल फर्कायो। स्पर्सका लागि मिडफिल्डर पिएर एमिल होइवियर्गले बराबरी गोल गर्न सफल भएका थिए।
त्यसपछि निर्धारित ९० मिनेटको समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा अन्त्य भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया