काठमाडौं, २ वैशाख – प्रदीप खड्का र जसिता गुरुङको मुख्य अभिनय रहेको चलचित्र ‘लिलिबिली’ ले यतिबेला आक्रामक व्यापार गरेको छ । शुक्रवारको तुलनामा शनिवार काठमाडौंका प्रायः सबै हलमा फिल्मले राम्रो व्यापार ग–यो । युवापुस्ता फिल्म हेर्न हलसम्म तानिए । कति दर्शक त टिकट नपाएर बाहिरिनु समेत परेको बताइयो ।यसैबीच निर्माण टिमले शुक्रवार र शनिवारको हल रिपोर्ट सार्वजनिक गरेको छ । वितरक समेत रहेका गोविन्द शाहीले दिएको रिपोर्टलाई आधार मान्ने हो भने फिल्मले शुक्रवार र शनिवार मात्र दुई करोड बराबरको व्यापार गरेको छ ।शुक्रवार फिल्मले ८२ लाखको ग्रस कलेक्सन गरेको र शनिवार फिल्मले १ करोड ३५ लाख बराबरको व्यापार गरेको बताइएको छ ।आज आइतवार पनि फिल्मको व्यापार राम्रो रह्यो । स्कटल्याण्डमा छायांकन गरिएको फिल्ममा प्रदीप र जसिताको मुख्य प्रेमकथा छ । यही प्रेमकथामा अनुप विक्रम शाही, सविन श्रेष्ठ र प्रियंका कार्कीलाई पनि जोडिएको छ । चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् भने प्रदीप भारद्वाजले लेखेका हुन् ।चलचित्रले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ भने समीक्षकले चलचित्रलाई खासै रुचाएका छैनन् । तर प्रदीपको क्रेजल भने दर्शकलाई निरन्तर रुपमा हलसम्म तानेको छ ।चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले लगानी गरेका हुन् । फिल्मको छायांकन सुदीप बरालले गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया