योग्य मानिसले इनाम पाउनै मुस्किल !

काठमाडौं । यो वर्ष संविधान दिवसको अवसरका सरकारले ९ सय ३ जनालाई
मानपदवी (विभूषण) प्रदान गरेको छ ।

गत वर्ष ५ सय ९४ जनाले मानपदवी पाएका थिए । गत वर्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । यो वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री छन् । देउवाले संविधान दिवसका दिन ओलीले भन्दा ३०९ पदक बढी बाँडेका छन् ।

देउवा र ओली दुवैले बाँडेका पदक विवादरहित भने रहेनन् । ४० महिना सरकारको नेतृत्व गरेका ओलीले आफूले भ्याएसम्म आफ्ना निकट र राजनीतिक आस्थाका आधारमा पदक बाँडे । देउवाले पनि त्यसको सिको गर्ने नै भए । पदकबाट चाकडी चाप्लुसी गर्ने सम्मानित हुने गरेका र पौरख गर्ने व्यक्तिहरू अपमानित हुनेगरेका एक पूर्वप्रशासकले लोकपथलाई बताए ।

ओलीले आइतबार सरकारले बाँडेको मानपदवीबारे टिप्पणी गर्दै भने, ‘कस्ता–कस्ताको घाँटीमा पुगिने भैयो भनेर पदकहरूले लाज मानिरहेका छन् ।’ सरकारले राजनीतिक आस्था र परिवारका व्यक्तिलाई मानपदवी प्रदान गरेको ओलीले दाबी गरे ।

संविधान दिवसका दिन सहिदका परिवारले गर्व गर्ने र घाइते तथा लोकतन्त्र ल्याउन भूमिका खेल्ने व्यक्तित्वलाई पदक नबाँडेको भन्दै ओलीले सरकारको आलोचना गरे । तर ओलीले आफू प्रधानमन्त्री हुँदा यस्तो परीपाटीलाई किन सच्याएनन् त ? यो प्रश्न त छ नै तर देउवाले पनि किन यसो गरे त ? यसले मानपदवीप्रति नै प्रश्न भने उठाएको छ ।

विभूषणसम्बन्धी बनेको कानुनमा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याई मुलुककको श्रीवृद्धि गर्न योगदान पु¥याएका व्यक्तिलाई विभूषण प्रदान गरिने उल्लेख छ ।

तर सरकारले त्यसको ख्याल नै नगरी नातागोता, आफ्ना निकट र आसेपासेलाई पदक दिने गरेको छ । कतिले त पदक अस्वीकार गर्ने गरेका छन् ।

कसले सिफारिस गर्छ मानपदवी ?

पदक सिफारिस गर्न गृहमन्त्री अध्यक्ष रहेको ५ सदस्यीय समिति छ । त्यसले विभूषण प्रदान गरिने व्यक्तिहरूको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्न मन्त्रिपरिषद्लाई सुझाव दिन्छ ।

सिफारिसको आधार राष्ट्रको गौरव वृद्धि गर्न उल्लेखनीय योगदान दिएको, सम्बन्धित क्षेत्रमा अत्यन्तै उत्कृष्ट काम गरेको, साहसी र बुद्धिमत्तापूर्ण काम गरेको भन्ने रहेको छ । तर त्यसको पालना भने हुन सकेको छैन ।

प्राध्यापक डाक्टर इन्द्रजित राईका अनुसार विभूषणसम्बन्धी मापदण्ड पालना गरेको खण्डमा योग्य व्यक्ति इनाम पाउनबाट वञ्चित हुने छैनन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार समेत रहिसकेका डा. राइले लोकपथसँग भने, ‘आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकालाई विभूषित गर्नुपर्छ, भनसुनका आधारमा होइन ।’

एक पूर्वसचिवका अनुसार प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता र कार्यकर्ताबाट आफ्ना निकटलाई विभूषण दिन दबाब आउने गर्छ । अपवादबाहेक सबै त्यही दबाबका आधारमा विभूषित हुनेको नाम टुंगो लगाइन्छ । जसलाई सर्वसाधारणले चिनेकै हुँदैनन् ।

सरकारले पदक वितरण पारदर्शी बनाउन नसक्दा योग्यले पदक नपाउनुका साथै पदकको अपमान समेत हुनेगरेको छ । पूर्वस्वास्थ्य मन्त्री एवं कांग्रेस नेता विपिन कोइराला पनि पछिल्लो समय विभूषणकै बेइज्जत हुन थालेको बताउँछन् । कोइरालाले लोकपथसँग भने, ‘जो सत्तामा जान्छ त्यसले जस्तो पायो त्यस्तो व्यक्तिलाई विभूषण दिन खोज्ने र जथाभावी वितरण गर्दा अवमूल्यन भएको छ।’

विभूषणका लागि निगाह र गोप्य शैली नभई, खुला तवरमा नाम छनोट हुनुपर्ने अधिकांशको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?