डुमामा अन्तर्राष्ट्रिय अनुगमनकर्तालाई पहूँच दिइने

अंकारा, ४ वैशाख । संयुक्त राष्ट्रसंघ तथा पश्चिमा राष्ट्रहरु समेतले सिरियाका विभिन्न स्थानमा रासायनिक पदार्थहरु मिसिएको घातक हतियारबाट भएका हमलाहरुको अध्ययनका लागि यस्ता शस्त्रहरु राखिएका भनिएका स्थानको भ्रमण गर्न सिरिया र रुसले अनुमति दिने भएका छन् । ती स्थानको भ्रमण र अवलोकनका लागि रुस र सिरियाले अन्तर्राष्ट्रिय अनुगमनकर्ता तथा विज्ञहरूलाई पनि पहूँच दिने उल्लेख गरिएको छ । यसरी ती स्थानमा रुस र सिरियाले वास्तविकता लुकाउने प्रयास गरिरहेको विदेशी अनुगमनकर्ताको आरोप छ । सिरियाली सरकारी सेनाले डुमामा गराएको हमलाको विषयमा सूचना संकलन गर्नबाट रोकिरहेको यसअघि बताइएको थियो । यसअघि अमेरिका र उसको गठबन्धनका सदस्य राष्ट्रहरुले ती हतियारहरुको प्रयोग गरिएका भनिएका स्थलहरुमा सिरियाली सेनाले नै प्रमाणहरू नष्ट गरिरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । डुमामा जानका लागि भन्दै शनिवार नै सिरिया पुगेका अन्तर्राष्ट्रिय विज्ञहरुलाई नमुना संकलन गर्न जानबाट सरकारले रोकेको थियो । यस घटनाको अन्तर्राष्ट्रिय रुपमा नै विरोध गरिएको छ । विरोधस्वरुप ती विदेशी विज्ञहरुले सरकारले नै ती क्षेत्रमा जान नदिएको भन्दै पहूँचका लागि सिरिया र रुसी सरकारलाई दबाव दिएका थिए । यसैबीच अन्तर्राष्ट्रिय रुपमा अनुगमन गरिरहेको अधिकारीहरूलाई सिरियामा रासायनिक हतियार आक्रमणबारे छानविन गर्न गएको समूहलाई रूस र सिरियाले अवरोध गरेको समाचार आधारहीन भएको क्रेमलिनले जनाएको छ । रूसप्रति लगाइएका यस्ता आरोपमा कुनै सत्यता नभएको क्रेमलिनले जनाएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि उक्त आरोपको खण्डन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?