वासिंगटन, ५ बैशाख । अमेरिकाकी पूर्वप्रथम महिला बारबरा बुशको ९२ वर्षको उमेरमा निधन भएको छ । पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशको कार्यालयलद्वारा जारी एउटा वक्तव्यमा ‘परिवार साक्षरताको क्षेत्रमा कहिल्यै नथाक्ने एक अभियानकर्मी’ का रूपमा रहेकी बारबरालाई गुमाएको उल्लेख गरिएको छ । केही समयदेखि बिरामी रहेकी उनले आफूले परिवारसँग आराम साथ बस्न चाहेको भन्दै उपचार गराउन अस्वीकार गरेकी थिइन् । उनी पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुशकी श्रीमती र जर्ज डब्ल्यू बुशकी आमा थिइन् । आफ्ना छोरा र श्रीमानले राष्ट्रपतिका रूपमा शपथ लिएको देख्ने उनी एकमात्र महिला पनि हुन् । अमेरिकी राजनीतिक बंशमा निकै शक्तिशाली महिला रहेकी बारबरा बुश सन् १९९० को दशकतिर ह्वाइट हाउसमा राष्ट्रपतिकी श्रीमतीका रूपमा परम्परागत भूमिकामा मात्रै सीमित रहिनन् । उनले परिवार साक्षरताका लागि एउटा प्रतिष्ठानको स्थापना गरेर उपेक्षामा परेका अमेरिकी आमाबुबा तथा छोराछोरीलाई लेखपढ गर्न सघाइन् । गर्भपतनबारे अझ उदारवादी अधिकारलाई समर्थन गर्दै उनी आफ्ना श्रीमानको रिपब्लिकन पार्टीका समर्थकहरूको विरोधमा समेत उभिइन् । उनको निधनप्रति अमेरिकाभरिबाट राजनीतिक संस्थापनले श्रद्धाञ्जली व्यक्त गरिरहेको छ । बारबराका श्रीमान् जर्ज एच डब्लु बुश सबैभन्दा लामो समय बाँच्ने अमेरिकी राष्ट्रपति हुन् । हाल उनी ९३ वर्षका छन् । उनीहरूका छोरा जर्ज डब्ल्यू बुश सन् २००० देखि २००८ सम्म अमेरिकी राष्ट्रपति थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया