काठमाडौं, ५ बैशाख । अमेरिकी गुप्तचर निकाय सीआइएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जोङ्ग–उनसँग एउटा गोप्य भेटवार्ताका लागि प्योङयाङको भ्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । नाम नखुलाएका अधिकारीहरूले वाशिङटन पोस्ट पत्रिका र समाचार संस्था रोयटर्सलाई बताए अनुसार ट्रम्प र किमबीच हुने प्रत्यक्ष वार्ताको तयारीका लागि इष्टर सप्ताहन्ततिर पोम्पेओ प्योङयाङ गएका थिए । यसअघि ट्रम्पले अमेरिका र उत्तर कोरियाबीच उच्चस्तरमा प्रत्यक्ष वार्ताहरू भएको स्वीकारेका थिए । फ्लोरिडामा जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको दुईदिने बैठकको सुरूवातमा बोल्दै ट्रम्पले वार्ताहरूबारे खुलासा गरेका हुन् । उनले भने, ‘हामीले एकदमै उच्चस्तरीय वार्ताहरू गरेका छौं ।’ किमसँग हुने बैठकका लागि पाँचवटा स्थानबारे विचार–विमर्श भइरहेको समेत ट्रम्पले बताए । उनले सन् १९५० देखि ५३ सम्म चलेको कोरियाली युद्ध औपचारिक रूपमा समाप्त भएको घोषणा गर्ने शान्ति सन्धिबारेको दुई कोरियाबीचको छलफलका लागि आफूले शुभकामना पठाएको पनि बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया