सरकारबाट बाहिरिएपछि मिडियाप्रति फेरियो ओलीको बोली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा सञ्चारमाध्यमबाट राम्रो सहयोग पाएको बताएका छन् ।

मंगलबार (आज) विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै ओलीले सो कुरा बताएका हुन् ।
आफू सरकारमा रहँदा गल्ती नगर्नका लागि प्रेरित गर्दै सञ्चारमाध्यमले अमूल्य सुझाव दिएकोप्रति धन्यवाद समेत व्यक्त गरे ।

‘एमाले आज सत्तापक्षबाट प्रतिपक्षमा गएको छ । सरकारमा छँदा हामीले सञ्चारमाध्यमबाट महत्वपूर्ण सहयोग पायौँ । प्रधानमन्त्रीको हैसियतमा मैले पाएँ । त्यसका लागि धन्यवाद दिन चाहन्छु । सरकारले गल्ती नगरोस् भनेर अमूल्य सुझावहरु दिनुभयो । ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित ग¥यो ।’ अध्यक्ष ओलीले भने ।

पहिले सरकारलाई सञ्चारमाध्यमले खबरदारी गरे पनि अहिले भने पहिले जति गर्न नसकेको ओलीको भनाइ रहेको छ । वर्तमान सरकारले कानुन नमानेको आरोप लगाउँदै सञ्चारमाध्यम चुप लागेर बसेका कारण सरकारले गल्ती गरेको टिप्पणी गरे ।
‘खबरदारी गरेन भने सरकार लापरबाह हुँदोरहेछ । जस्तो अहिलेको सरकारप्रति खबरदारी पुगेन कि जस्तो छ । संविधानको मतलब छैन । कानुनको मतलब छैन । सञ्चारमाध्यम उतै छन् । त्यसकारण सरकारले अनुकुलता ठानेको छ । जसले जे गर्दा गल्ती गर्दैछ । संविधान मिचिँदा पनि सञ्चार माध्यम चुपै लागेको जस्तो देखिएको छ ।’ ओलीले भने ।

सरकारबाट बाहिरिएपछि मिडियाप्रति ओलीको धारणा फेरिए पनि सरकारमा रहँदा भने ओलीले सञ्चारमाध्यमप्रति उछित्तो काढ्ने गरेका थिए । २०७४ सालको आम निर्वाचनपछि दुई तिहाइको बहुमतसहितको सरकारको नेतृत्व गर्ने अवसर पाएका ओली तत्कालिन समयमा सञ्चारमाध्यमको कडा आलोचना गर्ने गर्दथे । कोरोना महामारीका बेला हिँडेर गाउँ फर्किएका सर्वसाधारणको रिपोर्टिङ गरिएकोप्रति आक्रोशित हुँदै ओलीले प्रहरी भन्दा पहिले सञ्चारमाध्यम कसरी पुग्यो ? भन्दै आलोचना गरेका थिए ।

त्यतिमात्रै होइन सार्वजनिक कार्यक्रमहरुमा ओलीले सरकारले गरेका राम्रो कामका बारेमा सञ्चार माध्यमले चर्चा गर्न नसकेको भन्दै कडा आलोचना गर्ने गर्दथे ।

तत्कालिन समयमा २०७७ माग ८ गते ओलीले प्रेस संगठनको आफू पक्षका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै मिडियाहरु नर्कमा जाने सम्मका तर्क गरेका थिए ।

सो कार्यक्रममा ओलीले भनेका थिए–‘राष्ट्रको हितको पक्षमा छँदैछैन । स्वार्थबाट अन्धो हुन्छ । जब मान्छेले आत्मा बेच्छ । त्यसपछि त्यो नर्कमा गइसकेपछि फर्किनै सक्दैन । के गर्ने । ’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?