मन्त्री बन्न सांसदहरुको दौडधुप : को-को छन् त लाइनमा ?

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्री बन्न खोज्न सांसदहरुको दौडधुप बढेको छ ।

सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश फिर्तासँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेपछि सत्तारुढ दलका सांसदहरु नेताका निवास धाउन थालेका हुन् ।

सरकारले दल विभाजनका लागि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने गरी गत भदौ १ मा उक्त अध्यादेश ल्याएको थियो । सहज रुपमा दल विभाजन हुने प्रावधान ल्याएपछि नेकपा एमाले फुटेर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकिकृत समाजवादी पार्टी गठन भएको छ । त्यसैगरी जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतानित्रक समाजवादी पार्टी बनेको छ ।

तर मन्त्री नपाएको झोकमा फेरि पनि २० प्रतिशत सांसदहरुले पार्टी फुटाउने हुनकि भन्ने डर जनता समाजवादी र नेकपा एकिकृतलाई रहेको थियो । त्यसकारण शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन सकेको थिएन ।

गत २९ असारमा प्रधानमन्त्री भएका देउवाले पाँच मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार चलाइरहेका छन् । अब मन्त्रालय भागवण्डा टुंग्याएर बिहिबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ दलहरुको तयारी छ । गठबन्धन सरकारलाई टिकाइराख्न थोरै संख्यामै दल भिभाजन गर्न सक्ने अध्यादेश गठबन्धनमा सामेल दलहरुलाई नै घाँडो भएको थियो ।

कांग्रेसबाट मन्त्री हुनेमा सुजाता कोइराला,प्रकाशमान सिंह, डा। मिनेन्द्र रिजाल, पुष्पा भुसाल, मीन बहादुर विश्वकर्मा, प्रमिला राई, प्रकाश स्नेही, तेजुलाल चौधरी, उमाकान्त चौधरी, दिलेन्द्र बडू,सञ्जय गौतम, मोहन पाण्डे, डा। डिला संग्रैला,लालकाजी गुरुङ,भीमसेनदास प्रधान लगायतको नाम चर्चामा छ । तर भागवडाका कारण सबैजना मन्त्री बन्ने अवस्था छैन ।

त्यस्तै माओवादीबाट हरिबोल गजुरेल,देवेन्द्र पौडेल,बीना मगर, देव गुरुङ शिव कुमार मण्डल,अञ्जना विशंखे जयपुरी घर्ती, सन्तकुमार थारु, यशोदा सुवेदी रहेका बताइएको छ ।

जनता समाजवादीबाट मन्त्रीमा धेरै आकांक्षी देखिएका छन् । महन्थ ठाकुरलाई छोडेर आएकालाई पनि चित्त बुझाउनुपर्ने हुँदा जसपामा मन्त्री हुने चाहना राख्ने धेरै छन् । जसपाबाट स्वयम् अध्यक्ष उपेन्द्र यादव,महेन्द्र राय यादव,मोहम्मद इस्तियाक राई,प्रमोद साह, प्रदीप यादव,अमृता अग्रहरी, नरमाया ढकाल लगायत छन् ।

यता नेकपा एकिकृत समाजवादीबाट सांसदहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, डा। बेदुराम भुसाल, मेटमणि चौधरी, प्रेम आले, पार्वती बिसुंखे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ ‘किसान’, कल्याणी खड्का निरादेबी जैरु,अधिवक्ताद्वय शम्भु थापा र गोविन्द बन्दी लगायतको नाम मन्त्री बन्ने लिष्टमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?