आत्मविश्वासी बन्दै तनहुँ जुमडाँडाका महिला

तनहुँ, ५ वैशाख । लक्ष्मी रानामगर अहिले ५० वर्षकी भए । केही समयअघि अरुका अघि गएर आफ्ना कुरा भन्न लक्ष्मीलाई आँट थिएन ।अहिले समय फेरिएको छ । लक्ष्मीको आत्मविश्वास बढेको मात्र छैन, आफूजस्ता धेरै महिलालाई सँगै लिएर अघि बढ्न सक्ने भएका छन् ।जुमडाँडा झप्री सामुदायिक वन समूहको अध्यक्ष लक्ष्मी भएपछि लक्ष्मीको दैनिक फेरिएको छ । उनको समूहले वन संरक्षणमात्र गरेको छैन महिलालाई पनि आत्मनिर्भर र स्वस्थ बनाउन भूमिका खेल्दै आएको छ ।पहाडकी रानी उपमा पाएको बन्दीपुरबाट करीब पाँच किलोमिटर दूरीमा रहेको जुमडाँडाका महिला हरियो वन कार्यक्रममार्फत वन, वातावरण संरक्षण गर्नाका साथै आयआर्जनमा पनि जुटेका छन् ।हरियो वन, जिल्ला वन कार्यालय र सामुदायिक वनले स्थानीय महिलाको क्षमता वृद्धि गर्दै आयआर्जनमा जोड दिने कार्यक्रम ल्याएपछि महिला सक्षम बन्न थालेको उनीहरुको भनाइ छ ।आम्दानीका लागि गाउँका युवा विदेश वा घर बाहिर गएका छन् । महिला नै घर व्यवहारसँगै सामाजिक काम पनि गरिरहेको लक्ष्मीको भनाइ छ । लक्ष्मीमात्र होइन, गाउँका अन्य महिलाले पनि पुरुषका जिम्मेवारी साथै निभाएका छन् ।दिलकुमारी थापा सामुदयिक वन समूहमा जोडिएपछि घरमा बायोग्यास राखी अरुलाई पनि दाउराको खपत कम हुनाले राख्न सल्लाह दिई वन जोगाउन कोसिस गरिरहेको बताए ।“आठ वर्षअघि वन सबै मासिसकेको थियो, खाना पकाउन पनि दाउरा पाउन गाह्रो भइसकेको थियो, वन समूह संरक्षणसँगै इन्धनको वैकल्पिक उपायबारे पनि हामीलाई हरियो वन कार्यक्रमले सहयोग गरेको छ ।”दाउरा प्रयोग गर्दा धुवाँ धेरै हुने हुनाले टाउको दुख्ने, आँखा दुख्ने र श्वासप्रश्वासमा पनि समस्या हुन्थ्यो तर बायोग्यास प्रयोग गर्न थालेपछि स्वास्थ्य समस्या र काला भाँडा माझ्नबाट पनि मुक्ति पाएको दिलकुमारीको भनाइ छ ।खाना पकाउन, गाईभैँसीलाई कुँडो पकाउन पहिले लालीमाया गर्जामगर वार्षिक ४० भारी दाउरा लागेको सम्झन्छन् ।मासिँदै गएको वनमै भर पर्नुपर्ने भएकाले दाउरा जुटाउन समस्या भएको लालीमायाको अनुभव छ ।“केही समय भयो बायोग्यास राखेपछि मलाई १० भारी दाउराले कुँडो पकाउन पुग्छ, दाउराका लागि पहिलेजस्तो दुःख पनि हुन्न, हामीले वर्षमा तीन पटक वनबाट दाउरा पाउँछौँ, आजकल ढुक्क छ”, उनले भने । अहिले ग्यासमा खाना बनाउँदा थोरै समयमा पाक्ने होइन काला भाँडा माझ्ने बाध्यताबाट मुक्ति मिलेको जुमडाँडाका महिला बताउँछन् ।बंगुर व्यवसाय पनि गर्नुभएकी लालीमायाले गएको वर्ष सय केजीको बंगुर बेचेर ३५ हजार आम्दानी गरेका थिए ।लक्ष्मी, लालीमाया, देवीलगायत जुमडाँडाका धेरै घरका श्रीमान् र छोरा विदेश कोही अन्यत्र कामका लागि गएका छन् । गाउँघरमा महिला, बालबच्चा र वृद्धवृद्धामात्र भेटिन्छन् ।गाउँमा आम्दानीको स्रोत खोज्दै गाउँका युवा बाहिर थालेपछि सामुदायिक वन समूहलाई हरियो वन कार्यक्रममार्फत गाउँमै आयआर्जन गर्ने वातावरण बनाइदिएको छ ।सोही कार्यक्रममार्फत धेरैले आर्थिक सहायता लिई बंगुर, कुखुरा, बाख्रापालन व्यवसाय शुरु गरेका छन् । जसका लागि महिलाले तालीमसमेत प्राप्त गरेका छन् । उनीहरुलाई आत्मनिर्भर बनाउँदै वन, वातावरणको संरक्षणमा लाग्न प्रेरणा मिलेको लालीमायाको अनुभव छ ।सबै रुख काटेपछि उजाड भएको जुमडाँडाको सामुदायिक वन हरियो वन कार्यक्रमले संरक्षणमा प्रेरित गरेपछि अहिले हरियो बनेको बताउनुहुन्छ जुमडाँडा झप्री सामुदायिक वन समूहका पूर्वअध्यक्ष वीरबहादुर गुरुङ ।निकायको सहयोगमा हुने यस्ता कार्यक्रमले स्थानीयस्तरमा मानिसको चेतना अभिवृद्धि तथा प्राकृतिक सम्पदाको उपयोग र संवद्र्धनमा सहयोग पुगेको वीरबहादुरले बताए ।आफूजस्तो निम्न वर्गका लागि हरियो वन कार्यक्रमले नेतृत्व गर्न तथा प्रकृतिसँग आश्रित सबैसँग मिलेर बाँच्न सिकाएको कोषाध्यक्ष सुकमाया थापामगरको भनाइ छ ।“हातमा दुई पैसा आएको छ, घर व्यवहारका काममा श्रीमान् छोराकै भर पर्नुपर्ने अवस्था अहिले छैन, एकदम सन्तुष्टिको जीवन बाँच्न थालेका छौँ”, उनले भने ।नेपाल सरकारले पहिचान गरेका जैविक विविधताले महत्व भएका भू–परिधिको संरक्षण र व्यवस्थापनमा सुधार गर्ने उद्देश्यले हरियो वनको दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिरहेको छ ।पाँच वर्षे पहिलो चरणको कार्यक्रम सकिएपछि २०१७ जनवरी लागू हुने गरी दोस्रो चरणको कार्यक्रम शुरु गरिएको हो । जलवायु परिवर्तनबाट आउने समस्यालाई कम गर्नका लागि कार्यक्रम लाभदायक हुने सरकारको विश्वास छ ।मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण कम गर्नका लागि पनि कार्यक्रमले सहयोग गरिरहेको छ । जुमडाँडा झप्री सामुदायिक वनको १३ सदस्यीय कार्यसमितिमा ११ जना महिलामात्रै अध्यक्ष रहेको लक्ष्मीले जानकारी दिए ।सतचालिस हजार हेक्टर क्षेत्रफलमा फैलिएको झप्री सामुदायिक वन संरक्षणमा महिलाले नै अगुवाइ गर्दै आएका छन् । धेरै पुरुष गाउँबाहिर बस्ने भएकाले संरक्षणमा पुरुषभन्दा महिला बढी अग्रसर भएको पूर्वअध्यक्ष गुरुङ बताए ।अध्यक्ष लक्ष्मीका अनुसार महिलाले समूहमा मिलेर अचार बनाउने, दुना टपरी बनाएर बेच्ने काम पनि गर्ने गर्छन् । यस्ता कामले संस्कृति र परम्पराको निरन्तरता भएको छ भने अर्कोतिर आत्मियता, क्षमता वृद्धि गरेको छ ।सामुदायिक वनकी कोषाध्यक्ष सुकमाया थापा चुलोचौकाबाट निस्किएर सामाजिक काममा संलग्न हुँदा परम्परागत रुपले भन्दा फरक तरिकाले सन्तुष्टिको जीवन बाँचिरहेको बताए ।जिल्ला समन्वय समिति संयोजक शान्तिरमण वाग्ले अझै पनि वातावरणबारे थाहा पाए पनि यसको संरक्षण गर्ने विषय प्राथमिकीकरणमा राख्न नसकेको बताए ।उनले भने, “वातावरण र विकासलाई सँगसँगै लैजाँदा जोखिमलाई पनि ध्यान दिई निर्माण र वृक्षरोपण, आयआर्जनका कार्य सँगै लैजाँदा वातावरण र बासिन्दाको विकास भएको छ ।”स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तललाई वातावरण संरक्षणको अधिकार दिएकाले आउँदा दिनमा वातावरण संरक्षणमा प्रगति हुने विश्वास उनको छ ।जिल्ला वन अधिकृत मातृका पौडेलले वातावरणीय संरक्षण जनसहभागिताकै कारण वन संरक्षण सहयोग पुगेको भए पनि प्रकृतिजन्य वस्तुको प्रयोग पर्याप्त ध्यान दिन नसक्दा समय बेमौसममा दैवी विपद्हरु आउन थालेकोे बताए ।एनजिओ नेटवर्क तनहुँका संयोजक प्रतापसिंह गुरुङले जिल्लामा सञ्चालित कार्यक्रम ‘हरियो वन’ सञ्चालन गरी संरक्षणका कार्य गरिरहेको बताए ।वन्यजन्तुको चोरीशिकारी, मानव वनजन्तुबीचको द्वन्द्व, खुल्ला चरिचरण, वन आगलागी, पूर्वाधार निर्माण, विषादीको प्रयोग, मिचाहा प्रजातिका बिरुवा, नदीका स्रोतको अत्यधिक संकलन, माग र आपूर्तिबीचको दूरी, वन मासेर खेती गर्ने प्रवृतिजस्ता कारणले पछिल्लो समय वातावरणीय समस्या बढ्दै गएकाले त्यसतर्फ पनि जनसहभागिता सक्रिया बनाइ काम गर्न आवश्यक संयोजक गुरुङले बताए ।वातावरणीय स्रोतको अनधिकृत रुपमा अध्यधिक प्रयोगले जनस्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको र नयाँ रोगको आक्रमण भइरहेको बारे जनचेतना गराई वन, जल र जमिनको संरक्षणका लागि सक्रिय हुने वातावरण बनाउनुपर्नेमा उनको भनाइ छ ।विसं २०६५ मा झप्री सामुदायिक वनको स्वीकृत पाएको सो वनमा बाङ्गे, धोरत्रोका बिरुवामात्र बाँकी थिए । अहिले सालका बिरुवाले जंगल भरिएको छ । आफूहरुले संरक्षणको जिम्मा लिएदेखि आठ वर्ष भयो जंगलमा डढेलो लाग्न नपाएको वीरबहादुरको भनाइ छ ।एक सय छ घरधुरी ५८६ महिला पुरुष रहेको जुमडाँडामा २९१ महिला र पुरूष २९५ रहेका छन् । गाउँका ३८ घरमा बायोग्यास, ७३ घरमा सुधारिएको चुलो जडान गरिएको छ ।गाउँमै आयआर्जन गर्न चाहनेका लागि रु ५० हजारको आर्थिक सहयोग दिने गरिएको जानकारी अध्यक्ष लक्ष्मीले गरीबको स्तर छुट्याई त्यसैअनुसार आर्थिक सहयोग गर्ने गरेको बताए ।महिलामात्र होइन आठ वर्ष कतार बसेर गाउँ फर्किएका तिलकबहादुर आलेमगरले गाउँमै केही गर्ने सोच बनाएका छन् । विदेशबाट फर्किएर बंगुरपालन तालीम लिई व्यवसाय शुरु गरेका उनले दिनभर सामुदायिक वनको रेखदेख पनि गर्ने गर्छन् ।जिम्मेवारी जतिसुकै सानोठूलो होस् सबैको साथ पाए भने महिलाले समाज र घरको उत्तिकै राम्रो नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण जुमडाँडाका महिलाले दिएका छन् । यस्तै अवसर राज्यले हरेक तहतप्कामा दिने हो भने महिलाले वनमात्र होइन देशै हराभरा बनाउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?