गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गुणस्तरीय स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज पोखरामा आयोजित आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समीक्षा गोष्ठीमा उनले प्रदेशवासीलाई स्वास्थ्य सेवाको सहज पहुँच अभिवृद्धिका लागि सरकार निरन्तर लागेको बताए । कोरोनाको रोकथाम र नियन्त्रणका साथै प्रदेशवासीलाई खोप उपलब्ध गराउनका लागि सरकार लागिरहेको उनको भनाइ थियो ।
गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारीले सरकारले प्रदेशमा सर्वसाधारणको स्वास्थ्य रक्षालाई प्राथमिकतामा राख्दै अघि बढेको बताए । कोरोनाको रोकथाम र नियन्त्रणका लागि खोपको व्यवस्था गर्न निरन्तर लागिएको बताउँदै उनले प्रदेशभित्र छ लाख ८५ हजार ५८० जनाले पहिलो मात्रा र पाँच लाख ९१ हजार ९४७ ले दुवै मात्रासमेत लगाइसकेको जानकारी दिए ।
प्रदेशका अर्थमन्त्री रामजी बराल(जीवन)ले कोरोना महामारीको उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी प्रशंसायोग्य भएको बताए । स्वास्थ्य सेवाको गुणस्तरीयतालाई जोड दिनुपर्ने उनको भनाइ थियो । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले स्वास्थ्य सेवा व्यवसाय नभई सेवा क्षेत्र भएको कुरा सबैले मनन गर्नुपर्नेमा जोड दिए । कोरोना सङ्क्रमितको उपचारमा ज्यानको बाजी राखेर खट्ने स्वास्थ्यकर्मीको भूमिका उच्च प्रशंसायोग्य भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया